पुनर्गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक, आर्थिक र भूराजनीतिक संवेदनशीलताबाट गुज्रिरहेको बताउँदै वाम, समाजवादी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूबीच व्यापक राष्ट्रिय एकताको अपील गरेका छन्।
एक वक्तव्य जारी गर्दै उनले १५ वामपन्थी तथा समाजवादी समूहको एकीकरणबाट बनेको नयाँ दललाई उनले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पुनर्संरचना र समाजवादतर्फ उन्मुख ठूलो कदमको रूपमा प्रस्तुत गरे । प्रचण्डले जनता र शुभचिन्तकलाई अभिवादन गरेका छन्। जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनदेखि पछिल्लो जेन–जेड आन्दोलनसम्म प्राण गुमाउने सबै सहीदप्रति पार्टीले श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता तथा घाइते योद्धाप्रति सम्मान र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रचण्डले देशमा पुरानो उत्पादन प्रणाली र नयाँ राजनीतिक व्यवस्थाबीचको अन्तर्विरोध, आन्तरिक अर्थराजनीतिक असन्तुलन र नयाँ भूराजनीतिक दबाबका कारण जनताले अपेक्षित परिवर्तन अनुभूति गर्न नसकेको उल्लेख गरेका छन्।
उनका अनुसार प्रतिगामी शक्तिबाट जनक्रान्तिका उपलब्धिमाथि निरन्तर धावा बोलिने प्रयास भइरहेको छ भने सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणको जनचाहना विभिन्न रूपमा व्यक्त भइरहे पनि त्यसले संस्थागत रूप लिन पाएको छैन।
यसैबीच जेन–जेड आन्दोलनले देशलाई हल्लाए पनि तराई–मधेसदेखि सहरका सडकसम्म व्यक्त भएको नयाँ पुस्ताको असन्तोष र परिवर्तनको चाहना मूलतः सुशासन र उन्नत लोकतन्त्रको स्वर रहेको प्रचण्डले बताएका छन्। आन्दोलनलाई नियोजित रूपमा हिंसामा रूपान्तरण गरिँदै प्रतिगामी शक्तिले आफ्नो स्वार्थ पूर्ति गर्न खोजेको दाबी गर्दै उनले युवालाई संविधानिक मार्गमै रहँदै सुधार र परिवर्तनको अभियानमा जुट्न आग्रह गरेका छन्।
गैर–दलीय सरकारले तत्कालीन राजनीतिक तुँवालो केही हटाए पनि जनक्रान्तिका उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथिको खतरा हटिसकेको छैन भन्दै प्रचण्डले विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका गतिविधिमा अवरोध सिर्जना गर्ने तथा निर्वाचनलाई बिथोल्ने जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्।
त्यसैले देशलाई संविधानिक बाटोमै अघि बढाउन तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनैपर्नेमा पार्टी दृढ रहेको स्पष्ट पारेका छन्। उनले १५ समूहको एकता केवल संख्यात्मक जोड होइन, विगतमा विभाजित अवस्थामा रहेको वाम, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकतावद्ध गर्दै समाजवादतर्फ अगाडि बढ्ने ऐतिहासिक प्रक्रिया भएको बताए। मार्क्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेर नेपाली विशेषताको समाजवादलाई रणनीतिक कार्यक्रम बनाएको पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिबाट समाजवादी रूपान्तरण हासिल गर्ने संकल्प व्यक्त गरेको छ।
पार्टीले सहभागितामूलक, समावेशी र समानुपातिक शासनप्रणाली, उत्पादनका साधनमा सार्वजनिक, सामुदायिक र निजी स्वामित्वको सन्तुलित संयोजन, शिक्षा–स्वास्थ्यमा राज्यको दायित्व विस्तार, सबै खाले विभेद र शोषणको अन्त्य र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलाई आफ्नो आधारभूत दिशा रहेको बताउँदै यसलाई आगामी महाधिवेशनमार्फत अझ परिष्कृत बनाइने घोषणा गरेको छ। वर्तमान राष्ट्रिय परिस्थिति, जनअपेक्षा र समयको मागलाई आत्मसात् गर्दै प्रचण्डले देशभक्त, लोकतन्त्रवादी, वाम तथा समाजवादी सबै शक्तिलाई एकता र सहकार्यको यो प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
प्रकाशित: १३ मंसिर २०८२ १५:०८ शनिबार





