२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राखियो

कांग्रेस अनुशासन समितिको निर्णय : पूर्णबहादुर तामाङ निलम्बित, खड्कामाथिको प्रक्रिया तामेलीमा

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। समितिको संयोजक तारामान गुरुङको अध्यक्षतामा आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले यो निर्णय गरेको हो।

समितिले तामाङमाथि पार्टी अनुशासन उल्लंघनसम्बन्धी विषयमा थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ। उनी जिल्ला सभापति पदमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै निर्णय नहुँदासम्मका लागि आजकै मितिबाट कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पदीय जिम्मेवारीसम्बन्धी विषयमा सोधिएको स्पष्टीकरण प्रक्रिया भने तामेलीमा राखिएको छ। सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै समितिले सो प्रक्रिया अगाडि नबढाउने जनाएको हो।

त्यसैगरी, २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अनुशासन उल्लंघन भएको भन्दै विभिन्न जिल्लाबाट परेका उजुरीमाथि प्रारम्भिक वर्गीकरण सम्पन्न भएको समितिले जनाएको छ।

अब आरोप लागेका व्यक्तिहरूसँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरिएको छ। सम्बन्धित व्यक्तिलाई ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जर, हुलाक तथा कुरियरमार्फत पत्राचार गरिने पनि कांग्रेसले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App