आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन बाँके र बर्दियास्थित नागरिक समाजका अगुवाले चुनौती औल्याएका छन्। निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्रसँगै मतदाताको सुरक्षा, मतदान स्थलसम्म मतदाताको सहज पहुँच, मतदाता शिक्षाबारे सचेतना जगाउनुपर्ने उनीहरूको सुझाव छ।
विकट क्षेत्रका सर्वसाधारण नागरिकलाई मतदान स्थलसम्म पुग्न निकै असहज हुने गरेको र भौगोलिक रूपले मतदान स्थल टाढा हुँदा घण्टौं समयसम्म पैदल हिँडेर मतदान स्थलसम्म पुग्नुपर्ने बाध्यता भएको नागरिक समाजका अगुवाको जोड छ।
नागरिक समाजका अगुवाले निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन सरकार र निर्वाचन आयोगले उचित कदम चाल्नुपर्ने बताए। संवाद समूहका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजीकरण गरेको उक्त कार्यक्रममा एड्भोकेसी फोरमका बसन्त गौतमले जेनजी आन्दोलनमा लुटिएका सुरक्षाकर्मीका हतियार र फरार कैदीका कारण निर्वाचन धाँधलीपूर्ण हुन सक्ने खतरा औल्याए। नेपाल–भारत खुल्ला सिमाना भएकाले निर्वाचनको सुरक्षामा चुनौती आउने बताए।
नेपाल नेत्रहीन संघ बाँकेका अध्यक्ष भावुकजंग थापाले मतदान स्थलमा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिले आफ्नो मताधिकार पूर्ण रूपले प्रयोग गर्न नपाइरहेको बताए। मतदान गर्दा अर्काको साहारा लिनुपर्ने बाध्यात्मक अवस्थाले गर्दा अपांगता भएका व्यक्तिले रोजेको उम्मेदवारलाई आफ्नो मत दिन नसक्ने समस्या रहेको सुनाए। गैरसरकारी संस्थाकर्मी नमस्कार शाहले निर्वाचनमा नागरिक समाजको दोहोरो भूमिका हुने गरेको बताए। निर्वाचनको समयमा कतिपय सञ्चार माध्यमको भूमिका समेत एक पक्षिय रूपमा देखिने गरेको उनको बुझाइ छ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारीले निर्वाचनमा आउन सक्ने सम्भावित चुनौतीबारे आयोगले प्रतिवेदनमार्फत सुझाव दिइरहेको बताइन्। निर्वाचनमा मत बदर हुने, मतदान स्थलमा असहजता, मतदाताको पहुँच भन्दा बाहिर हुने गरेको बताइन्।
बेस नेपालका केन्द्रीय उपाध्यक्ष संगिता चौधरीले निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउनुको विकल्प नभएको बताइन्। निर्वाचनका सन्दर्भमा सबै नागरिकप्रति समान व्यवहार हुनुपर्ने उनको सुझाव छ।
संवाद समुह लुम्बिनी प्रदेशको सहजीकरण तथा बेस संस्थाको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा समूहका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले निर्वाचन नजिकिदै गर्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर नागरिक समाज लगायत विभिन्न पक्षसँग निरन्तर संवाद गर्दै समस्याको निकास खोज्ने प्रयास गरिएको बताए।
अधिकांस जिल्लामा मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्र व्यवस्थापन गर्नुपर्ने सुझाव आएको बस्नेतले औल्याए। सो क्रममा संवाद समुहका सहजकर्ता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाई र संवाद समूह बर्दियाका सहजकर्ता भावुक योगीले निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन जिम्मेवार निकायले आफ्नो भूमिका निभाउनुपर्ने बताए।
प्रकाशित: १ फाल्गुन २०८२ १८:५८ शुक्रबार





