२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध परेको रिटमा सोमबार पनि बहस नसकिएपछि  ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिटलाई ‘हेर्दाहेर्दै’ मा राखेको हो।

आइतबारदेखि सुरु भएको रिटमाथिको बहस सोमबार पनि जारी रह्यो। आइतबार र सोमबारको सुनुवाइपछि पनि बहस नसकिएकाले सर्वोच्चले मुद्दालाई मंगलबारका लागि सारेको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले सभापति लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यो निवेदनलाई नियमित सुनुवाइमा पेस गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले जिल्ला अदालतहरूले यसबारे कुनै निर्णय गरेका छैनन्।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने सरकारी प्रयास भए पनि लामिछानेविरुद्धको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् नै रहनेछ।

प्रकाशित: २ चैत्र २०८२ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App