उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्वकीय र सल्लाहकारहरूको हस्तक्षेपले कर्मचारीतन्त्र निरुत्साहित र निराश भएको आरोप लगाएका छन्।
मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसबारे सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताए।
स्वकीय सचिव र सल्लाहकारको बढ्दो संख्या सुशासन, सरकारी खर्च नियन्त्रण र प्रशासनिक कार्यसम्पादनका लागि चुनौती बनेको उनको भनाइ छ।
घिसिङले आफू मन्त्री हुँदा तीनवटा मन्त्रालय सम्हाल्दा तलबसहित एकजना मात्र स्वकीय सचिव राखेको उल्लेख गर्दै उनले मन्त्रीहरुको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाए।
उनले भने, ‘मन्त्रीहरूले ५–७ जनासम्म तलबै दिएर स्वकीयहरू राखेको र तलब नदिएर राखेको चाहिँ अझ २०–३० जना छन् रे। स्वकीय र सल्लाहकारहरूले मन्त्रालयको पूरै फ्लोरहरू नै भरेको छ। यो राम्रो होइन। सरकारले यसको समीक्षा गर्नुपर्छ।’
यस्तै, उनले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थाप्रति पनि प्रश्न उठाएका छन्। सांसदहरू सेवाभावका साथ राजनीतिमा आउने भएकाले छुट्टै सरकारी सुविधा नथप्न उनले आग्रह गरे।
‘आफ्नै तलबबाट स्वकीय राख्न सुझाव दिन्छु। सांसदको स्वकीयलाई छुट्टै सुविधा नदिँदा राम्रो हुन्थ्यो। मन्त्रीलाई दुईरतीन जना राख्दा हुन्छ,’उनले भने।
प्रकाशित: १२ श्रावण २०८३ १७:३० मंगलबार


-600x400.jpg)


