सत्तासीन दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलमा दिइने अनुदान प्राङ्गारिक मलमा दिन कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सधैँ नकारात्मक रहने गरेको आरोप लगाएका छन्।
रासायनिक मलखादका लागि दिइने अनुदानको चौथाइ हिस्सा मात्रै प्राङ्गारिक मलमा दिँदा रासायनिक मल अभावसम्बन्धी समस्या हल हुने भन्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन्।
'यदि नेपाल सरकारले रासायनिक मलखादमा दिने अनुदानको केवल चौथाइ हिस्सा मात्र प्राङ्गारिक तथा जैविक मलका लागि विनियोजन गर्ने हो भने हरेक वर्ष दोहोरिने रासायनिक मलको अभावसम्बन्धी समस्या निकै हदसम्म समाधान हुन सक्थ्यो,' उनले भनेका छन्।
तर, यसमा कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सधैँ नकारात्मक रहने गरेको उनले बताएका छन्। 'तर, यस विषयमा कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सधैँ नकारात्मक रहँदै आएको छ,' उनले भनेका छन्।
प्रकाशित: २९ श्रावण २०८२ २१:३६ बिहीबार





