२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

थरीथरी नाम, थरीथरी चुनाव चिह्न

निर्वाचन आयोगमा शुक्रबारसम्म १३९ वटा राजनीतिक दल सूचीकृत भएका छन्। त्यस्तै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १०९ वटा दल दर्ता भएका छन्। आयोगका अनुसार प्रतिनिनिधसभा सदस्य निर्वाचन प्रयोजनका लागि शुक्रबार ‘उन्नत लोकतान्त्रिक पार्टी’ दर्ता भएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइका अनुसार पुराना दलहरूले पुरानै चुनाव चिह्न प्रयोग गर्न सक्छन् तर नयाँ दर्ता हुने दलको हकमा दर्ता निवेदनसँगै चुनाव चिह्न रोज्ने र प्रस्ताव गर्ने सुविधा दिइएको छ। ‘सकेसम्म दलहरूलाई उनीहरूले रोजकै चुनाव चिह्न दिन्छौं, जुन यसअघि अरु दलले रोजेको नहोस्’, प्रवक्ता भट्टराइले भने, ‘तर कानुनभन्दा बाहिर गई कसैले चुनाव चिह्न रोजेमा त्यसलाई स्वीकार गर्दैनौं। जस्तो कि कसैले हतियार रोजेमा हामीले मान्यता दिन सक्दैनौं।’

यसपटक दर्ता भएका नयाँ दलहरूले अनौठाअनौठा चुनाव चिह्न रोजेका छन्। हर्कराज राईले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ले अञ्जुलीमा राखेको माटो चुनाव चिह्न रोजेको छ। कुलमान घिसिङको अगुवाइमा खुलेको ‘उज्यालो नेपाल पार्टी’ले बलिरहेको चिम चिह्न रोजेको छ। राजेश प्रतेनले नेतृत्व गरेको ‘राष्ट्रिय परिर्वतन पार्टी’ले जाँतो, श्रेया केसीले नेतृत्व गरेको ‘नागरिक सेवा पार्टी’ले स्कुटर र नेत्रविक्रम चन्दले नेतृत्व गरेको ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गुलाफको फूल चुनाव चिह्न रोजेका छन्। केही दिनअघि दल दर्ताको प्रमाणपत्र लिन जाँदा चन्द गुलाफको फूल लिएर निर्वाचन आयोग गएका थिए।

त्यस्तै राम बोहराले नेतृत्व गरेको ‘आवाज पार्टी’ले कान चिह्न रोजेको छ। गोपीलाल न्यौपाने नेतृत्वको ‘नेपाल लिबरल पार्टी’ले सिक्का, प्रकाश खड्काले नेतृत्व गरेको ‘नेपाल जनसेवा पार्टी’ले जुत्ता, रमण कर्ण अध्यक्ष र एलिजा गौतम उपाध्यक्ष रहेको ‘जनादेश पार्टी नेपाल’ले माइक चुनाव चिह्न रोजेको निर्वाचन आयोगले जनाएको छ।

दर्ता भएका पार्टीको नाम पनि धेरैजसो एक अर्कोसँग मिल्दाजुल्दा जस्तै छन्। धेरैजसो पार्टीले नाममा राष्ट्रिय र लोकतन्त्र जोडेका छन्। सार्वभौम नागरिक पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रिय ऊर्जाशील पार्टी, नागरिक सर्वोच्चता पार्टी, त्रिमूल पार्टी, इतिहासिक जनता पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय गौरव पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी, राष्ट्रिय युवा पार्टी, एकता नेपाल पार्टी, नवनिर्माण पार्टी, सर्वोदय पार्टी, हाम्रो पार्टी नेपाल, उदार लोकतन्त्र पार्टी, नेपाली प्रथम पार्टी नामका दल आयोगमा दर्ता भएका छन्।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि बढाएर मंसिर १४ गतेसम्म पुर्‍याएको छ। आयोगका अनुसार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको सबै दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराइसकेका छन्।

प्रकाशित: १३ मंसिर २०८२ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App