नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रधानमन्त्री संविधानभन्दा माथि नभएको बताएका छन्। उनले कानुनभन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई राजनीतिक ‘स्टन्ट’ वा खेलाँचीको विषय नबनाउन आग्रह गरे।
‘संविधान संशोधनलाई दुई–चार जना बसेर यता चलाउने, उता बिगार्ने जस्तो गरेर अपरिपक्व ढंगले अघि बढाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्त्याउन सक्छ। यत्रो दुःख गरेर द्वन्द्वलाई समाधान गरिएको छ,’ सुनसरीको लौकहीमा शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण उद्घाटन कार्यक्रममा सभापति थापाले भने। उनले लोकप्रियताको आधारमा मनलाग्दी निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई संविधान र कानुनको सीमाभित्र रहेर अघि बढ्न सुझाव दिए।
‘म शक्तिशाली छु, म लोकप्रिय छु भनेर जे पनि गर्न पाइँदैन,’ थापाले भने, ‘सरकार र प्रधानमन्त्रीले संविधानअनुसार सम्हालिएर काम गर्नुपर्छ। सरकार र प्रधानमन्त्री दुवैलाई कानुनले बाँधेको हुन्छ।’ उनले सनक चलेका भरमा डोजर लगाएर सुकुम्बासी बस्ती तहसनहस बनाउन नपाइने बताए।
‘ठीक छ, सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ। तर कानुनी दायराभित्र रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘सरकारलाई मन लाग्यो, झोक चल्यो भनेर दिनदहाडै व्यवसायी उठाइदिने, बैंकको सिइओ उठाउने, जसलाई जे मन लाग्यो त्यही गर्ने अनि घोक्रेठ्याक लगाउने कामप्रति हाम्रो पार्टीको घोर विरोध छ।’ उनले निर्माण व्यवसायीलाई ‘थुन्छु र रुखमा बाँधेर ठीक पार्छु’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गलत भएको बताए।
सभापति थापाले मध्यपूर्वमा अहिलेको संकटले अर्थतन्त्रमा ठूलो धक्का लागेकोप्रति सरकार गम्भीर नभएको बताए । ‘सबैभन्दा बढी प्रभावित आयल निगम मात्र होइन, कम आय हुने वर्ग पनि प्रभावित भएको छ । अर्थतन्त्रमा धक्का लागेकाले यस वर्ष नेपालमा मलको अभाव हुँदैछ । भारत सरकारले आधा मात्र मल प्रयोग गर्न आह्वान गरिसकेको छ,’ थापाले भने, ‘राष्ट्रिय मुद्दामा सरकार कसैसँग सहकार्य गर्न तयार छैन ।’
सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई राष्ट्रिय सरोकारका विषयमा अघि बढ्न आह्वान गर्नुपर्नेमा प्रधानमन्त्री नै संसदमा नआउनु संसदको हितमा नभएको उनले बताए ।
‘जेनजी पुस्ताको आन्दोलनमा भएको घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । भदौ २३ गतेसँगै २४ जनधनको क्षति गर्नेलाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ,’ उनले भने ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको नेतृत्व र पार्टीबाट सरकारी पद धारण गरेका व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा महामन्त्री गुरुराज घिमिरेले नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा काँग्रेस बनाउनका लागि सबैलाई आह्वान गरे ।
प्रकाशित: ८ जेष्ठ २०८३ १९:४५ शुक्रबार





