१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रवासी नेपालीलाई धन्यवाद दिँदै रविले भने: यो सरकार, यो संसद् तपाईंहरूकै हो

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रवासी नेपालीलाई धन्यवाद दिँदै वर्तमान सरकार र संसद् उनीहरूकै रहेको बताएका छन् ।  

प्रतिनिधि सभाको आजको बैठकमा उनले प्रवासी नेपालीको योगदान र भूमिकाको प्रशंसा गरे । रेमिट्यान्सबाट देश चलेपनि देशले कहिल्यै योगदानको मूल्यांकन नगरेको लामिछानेले बताए ।  

उनले भने, ‘आजको संसदका रचयीता हुनुहुन्छ विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू । यो देशमा आजसम्म सधैँ तपाईंहरूले पठाएको रेमिट्यान्सको कुरा भयो । तर आज म पैसाको होइन तपाईंहरूले तिर्नुभएको व्यक्तिगत मूल्यको कुरा गर्छु । परिवारबाट अलगिनुभयो । आमाबुबाको साथ छोड्नुभयो । कलिला छोराछोरीको बाल्यकाल गुमाउनुभयो । चार्डपर्वको रमाइलोसँगै पारिवारिक माहौल गुमाउनुभयो । आफ्नो गाउँघरको न्यानोपन गुमाउनुभयो । कत्तिले आमाबुबाको मृत्युमा काँध थाप्न पाउनुभएन ।  कत्तिले सन्‍‍तानको पहिलो पाइला देख्न पाउनुभएन । यहीबाट क्षमायाचनासहित म स्वीकार गर्‍छु यो देशले तपाईंहरूको त्यागको उचित सम्मान गर्न सकेन । न्याय दिन सकेन । अब तपाईंहरूको पीडा कथा बन्ने छैन । नीति बन्ने छ । सरकारको प्राथमिकता बन्ने छ । विचौलिया कारबाहीको भागेदार हुनेछन् ।’

अब प्रवासी नेपालीको न्यायका लागि सरकारले काम गर्ने दावी गर्दै सरकारका नीति तथा कार्यक्रम पनि खाडी मुलुकका नेपालीको हीतमा हुने बताए । उनले नेपालबाट जाने राजदूत पनि श्रमिकको शिविरमा पुगेर काम गर्ने गरी परिचालन गर्ने बताए ।  

उनले भने, ‘अबको नीति तथा कार्यक्रम तपाईंहरूबाट बन्नेछ ।  खाडी मुलुकमा जाने हाम्रा राजदूतहरू बिचौलियासँगको डिनर टेबलमा होइन । श्रमिकका शिविरमा भेटिनेछन् । युवा साथीहरूलाई म अपिल गर्छु यो सरकार तपाईंहरूको हो । यो संसद पनि तपाईंहरूको हो । संघर्ष तपाईंहरूको आवाज र तपाईंहरूको विश्वासको परिणाम हो ।’

प्रकाशित: १९ चैत्र २०८२ १७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App