२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

दोस्रो अवसर दिनुभयो धन्यवाद, जानेर गल्ती गर्ने छैन: हर्क साङपाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले जनताबाट दोस्रो पटक अनुमोदन भएको भन्दै खुसी व्यक्‍त गरेका छन् । एक कार्यक्रममा सहभागी हुने क्रममा उनले आफूले गरेको काम र जनताका आवाज उठाएकाले नै जनताले दोस्रो पटक अवसर दिएको बताए ।  

धरान उपमहानगरपालिकाको मेयरका रुपमा आफूले गरेका कामको अनुमोदन अहिलेको विजय हो भन्ने आफूले लिएको साङपाङले बताए । विगतमा धरानमा गरेको काम कै निरन्तरता र संघीय संसदबाट गर्न सक्ने काममा आफू दृढ भएर लाग्ने उनले बताए । कार्यक्रममा सम्बोधन गर्नेक्रममा उनले भने, ‘जनताको अनुमोदनलाई मैले आफ्नो कामको मूल्यांकनका रुपमा लिएको छु । मलाई दुई पटक जनताले अनुमोदन गर्नुभयो । यो महत्वपूर्ण कुरा हो । मैले गरेको कामको सम्बोधन पनि हो । विगतमा मैले जति गर्न सकेँ अब पनि म गर्छु । यत्ति प्रतिवद्धता जनाउँछु जाने र जानेसम्म कुनै गल्ती गर्ने छैन । संसद्‌मा अब पनि तपाईंहरूको आवाज र आवश्यकताका विषय उठाउनेछु ।’

उनले सदनमा पुगेर देशलाई नयाँ ट्याकमा ल्याउन आवश्यक पर्ने सबै काममा आफू लाग्ने साङपाङले बताए । उनले भने,  ‘अब जनअपेक्षा जस्तै देशलाई बदल्नु छ । देश बदल्न पुराना नीति तथा कानून सुधार्नु छ । म त्यो काममा लाग्ने छु । तपाईंहरूले दिनुभएको मतको उच्च सम्मान गर्दै काम गरेरै देखाउने प्रतिवद्धता जनाउँछु ।’

साङपाङले आफूले कुनै कमजोरी गरे वा कुनै गुनासो रहे फोन गरेरै झकझक्याउने पनि सुझाएका छन् । उनले भनेका छन्, ‘म तपाईंहरूसँग सँधै सँगै रहनेछु । अब मेरो कार्यस्थल अलि ठूलो भएको छ । कामको व्यस्तता वा अरु कुनै कारणले तपाईंहरूको सम्पर्कमा आउन सकिन भने मलाई झक्झङ्क्याउनु होला । फोन गर्नुहोला खबरदारी पनि गरिरहनुहोला ।’

प्रकाशित: २ चैत्र २०८२ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App