नेकपा (एमाले)का नेता ठाकुर गैरेले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी स्वीकार गर्दै शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। उनले कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोपसमेत लगाए।
‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै गैरेले भारतमा शिक्षा क्षेत्रसँग सम्बन्धित आन्दोलनपछि शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा भने प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनापछि पनि सरकारले जिम्मेवारीबाट उम्किन खोजेको टिप्पणी गरे।
उनले भने, ‘भारतमा आन्दोलन भएपछि शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो। नेपालमा पनि एमबीबीएसको प्रश्नपत्र लिक भएको छ। तर शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दै सरकार उम्किन प्रयास गरिरहेको छ।’
गैरेले सरकारको समग्र कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारले स्पष्ट धारणा राख्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीले संसद्मा नेपालले भारतको भूमि मिचेको विषय उठाएको दाबी गरे। त्यसबारे सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उनको भनाइ थियो।
यसैबीच, उनले आफ्नै पार्टी एमालेभित्रको गतिविधिप्रति पनि असन्तुष्टि जनाए। गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि हालसम्म केन्द्रीय कमिटी बैठक बस्न नसकेको उल्लेख गर्दै उनले निर्वाचन परिणामको समीक्षा गर्नसमेत बैठक नबस्नु कम्युनिष्ट पार्टीका लागि विडम्बनापूर्ण अवस्था भएको बताए।
उनले भने, ‘फागुन २१ मा चुनाव भएको हो। आज साउन १० पुगिसक्यो। एमालेजस्तो पार्टीको केन्द्रीय कमिटी बैठक हुन सकेको छैन। किन चुनाव हारियो भनेर समीक्षा गर्नुपर्ने हो। यसभन्दा ठूलो विडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’
प्रकाशित: १० श्रावण २०८३ १८:२७ आइतबार



-600x400.jpg)

