जब सत्ताले बाटो बिराउँछ तब मुलुक एकै पटक आँसुको भेलमा बग्छ भन्ने उदाहरण शुक्रबार पशुपति आर्यघाटमा देखियो। आर्यघाटको एकातिर सोमबारको जेन–जी आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीको चिता र अर्कातिर मंगलबारको आन्दोलनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीको चिता जल्दै थियो।
सामाजिक सञ्जाल स्वतन्त्रता, पारदर्शिता र सुशासनका मागहरू बोकेर आन्दोलनमा उत्रेका १९ वर्षीय श्रीयम चौंलागाईंको शव जल्दा होस् या मंगलबार कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीका शव जल्दाको क्षण। दुवैमा आँसुको भेल बगेको थियो। यस्तो लाग्थ्यो, राज्यको लापरबाहीका कारण सिंगो मुलुकसँगै बागमती पनि रोइरहेको छ। ‘ऊ मुलुकको बेथितिविरुद्ध आवाज उठाउन गएको थियो,’ आर्यघाटमा जल्दै गरेको श्रीयमको भिडियो हेरेपछि प्रभात अधिकारी लेख्छन्, ‘सत्ताको गोलीले उसको आवाज बन्द गराइयो।’
कुनै दल र पार्टीसँग आबद्ध नभएको केवल मुलुकको हित सोचेर हिँडेको किशोर निरकुंश सत्ताको गोलीले ढलेको उनले सुनाए। सत्ताले श्रीयमको आवाज बन्द गराए पनि हजारौं श्रीयमहरू जन्मिसकेको उनी बताउँछन्।
कर्तव्यपालनका क्रममा खटिएका प्रहरीको चिता जल्दा पनि सर्वसाधारण भावुक बने। प्रहरीका परिवारको चीत्कार र रुवाबासी सुन्दा धेरैको मन रोएको थियो।
‘हामी पनि यस देशका नागरिक नै हौं दाजुभाइ जस्तै तर आदेश पालना गर्नु हाम्रो कर्तव्य हुन्छ, ‘एक प्रहरी जवानले सुनाए, ‘जब आन्दोलन हिंसात्मक मोड लिन्छ, हाम्रो ज्यान पनि जोखिममा पर्छ, आज हाम्रो साथी हामीसँग हुनु हुन्न।’
यसरी एउटै आर्यघाटमा एउटै घटनाले दुई भिन्न परिवारलाई आँसुमा डुबाएको थियो। एकातिर ‘सहिद’ भएको जेन–जी युवा, अर्कातिर कर्तव्य पूरा गर्दै गर्दा ज्यान गुमाएका प्रहरी। दुवैको परिवारको पीडा आँसु र चिच्याहटले सबैलाई दुःखी बनाएको थियो।
‘भ्रष्ट सरकारका कारण दुवैलाई एकअर्काको दुस्मनजस्तो बनाएर लडाइयो,’ दिनेश स्याङ्तान लेख्छन्, ‘मारिएका सबै एउटै मुलुकका नागरिक हुन्।’
सयौं थुँगामध्ये यी केही थुँगा मात्र हुन्। आन्दोलनको पहिलो दिनमै सोमबार १९ जनाको मृत्यु भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या शुक्रबारसम्ममा ५१ पुगेको छ। प्रहरीले आन्दोलनले उग्र रूप लिएसँगै प्रहरीले भिड नियन्त्रणका लागि भन्दै गोली चलाएपछि पहिलो दिनमै १९ जेन–जीले ज्यान गुमाएका थिए, सोही क्रममा श्रीयमको पनि मृत्यु भएको थियो। दोस्रो दिनको आन्दोलनले उग्र रूप लिएपछि तीन प्रहरीको ज्यान गएको थियो।
त्यस्तै झडप, आगलागी, भागदौडमा परि थप १८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ। जसमा गोली प्रहारबाट मात्रै जम्मा ३० जना जेन–जीले ज्यान गुमाएका छन्। आन्दोलनका क्रममा सयौं घाइते छन्। सडक र अस्पताल रगतले भिजेको छ। तर निकास दिनुपर्ने राज्य अझै मौन छ। उनीहरू बल्लतल्ल सहमतिको बाटोमा आएका छन्। आन्दोलनकारी र प्रहरी, दुवै सामान्य परिवारका सन्तान हुन्। तर राजनीति र सत्ता संघर्षले उनीहरूलाई आमनेसामने उभ्याइदिन्छ र यस्तो अवस्था आउँछ।
‘आर्यघाटमा एउटै समयमा दुई चिताको धुवाँ उडिरहेको थियो,’ अन्जान फुयाँल लेख्छन्, ‘एक युवाको सपना, अर्को सुरक्षाकर्मीको कर्तव्य।’ दुवैको परिवार रोइरहेका थिए। कोही छोराको लास बोकेर आएका थिए, कोही सहिद बनेका आफन्तलाई प्रहरी पोसाकमा सलामी दिँदा थेग्न नसक्ने आँसु झारिरहेका थिए। यस्तोमा राज्यचाहिँ किन सधैं कठोर बन्छ भन्ने प्रश्न उठेको छ।
जेन–जी आन्दोलन युवा पुस्ताको असन्तोषको उत्कर्ष हो। तर राजनीतिक दलहरू भने अझै आपसमा आरोप–प्रत्यारोपमै व्यस्त छन्। केही अघिसम्म त आन्दोलनकारी जेन–जी पनि एकअर्काबिच आरोप–प्रत्यारोपमा उत्रिएको समेत देखियो। उनीहरू सत्ता प्राप्तिका लागि मात्र होइन, मुलुकको समृद्धिका लागि मिल्नुपर्छ।
सडकमा पोखिएका युवाहरूको रगत आँसु र सुरक्षाकर्मी परिवारको पीडा कसैले सम्बोधन गर्न सकेका छैनन्। ‘यो घटनाले एउटा कटु सत्य उजागर गरिदिएको छ,’ जीवन अर्याल लेख्छन्, ‘राजनीतिक असंवेदनशीलताले आन्दोलनकारी मात्र होइन, सुरक्षाकर्मी पनि ज्यान गुमाउन बाध्य हुन्छन्। दुवैका परिवार रोइरहेका छन्। दुवैलाई राजनीतिमा खेलाउने साधन बनाइएको छ।’
यस्तो जटिल अवस्थामा पनि विभिन्न राजनीति खेल्ने प्रयास रोकिएन। मुलुकले निकास पाउने देखिएको छ। जेन–जी आन्दोलनको राप नसेलाउँदै उनीहरूको मागको सम्बोधन हुनु जरुरी रहेको युवाहरूको भनाइ छ। सर्वसाधारण धैर्यसाथ निकासको प्रतीक्षामा छन्। ‘आर्यघाटमा उठेको धुवाँ केवल श्रीयम वा प्रहरीको मात्र होइन, सम्पूर्ण प्रणालीको असफलताको धुवाँ हो,’ जीवन थप्छन्, ‘समयमै उनीहरूको मागको सार्थक सम्बोधन गर्न नसके यसले सिंगो मुलुकलाई पुनः रुवाउनेछ।’
प्रकाशित: २८ भाद्र २०८२ ०८:३३ शनिबार





-1200x560-600x400.jpg)