उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक भएको बताएका छन्।
विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायद्वारा शनिबार आयोजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले यस्तो बताएका हुन्। उनले लुम्बिनीको संरक्षण र सम्वर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने पनि बताए।
‘लुम्बिनी केवल भौगोलिक स्थल मात्र नभएर विश्व शान्तिका लागि एक महत्त्वपूर्ण धार्मिक केन्द्र हो। सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक हो,’ उनले भने, ‘बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ।’
कार्यक्रममा थाइल्याण्डका सुपोत महास्थवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारले धार्मिक अभिनन्दन गरेको थियो।
प्रकाशित: १० श्रावण २०८२ १४:११ शनिबार





