२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सुशीला कार्कीलाई नेतृत्व लिन प्रस्ताव

 नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा जेन–जी युवाले मुलुकको नेतृत्व गर्न पूूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आग्रह गरेका छन्। उनीहरूले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश कार्कीको नाम नेपाली सेनासमक्ष प्रस्ताव पनि गरेका छन्।

उनीहरूले कार्कीमा कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वता भएका भन्दै बुधबार साँझ जंगी अड्डामा उनको नाम प्रस्ताव गरेका हुन्। प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकै आधारमा उनी युवाको रोजाइमा परेकी हुन्। उनीहरूले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह, स्वतन्त्र रूपमा निर्वाचन लड्न खोजेका सागर ढकाललाई पनि विकल्पमा राखेका छन्। साथै उनीहरूले कुलमान घिसिङलाई पनि आग्रह गरेको बुझिएको छ। तर यी सबै नाममध्ये सुशीला कार्कीमा बलियो अभिमत रहेको देखिएाके हो। जेन–जी युवाहरूको ग्रुप च्याट र च्यानलमा पाँच हजारभन्दा युवाहरूले ‘लाइभ अभिमत’ दिइरहेका छन्। उनीहरूले स्वदेश र विदेशमा रहेका युवाहरूबाट मत लिइरहेका छन्।

यसअघि धेरै समूहमा बाँडिएका जेन–जीको छलफलमा पनि नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश कार्कीलाई आग्रह गर्ने समझदारी बनेको थियो। उनीहरूको भर्चुअल छलफलमा सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाज उठाइएको थियो। भर्चुअल बैठकहरू विभिन्न समूहमा भइरहेको र ती छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीबारे कुरा उठेको थियो। अहिलको परिस्थितिमा निष्ठावान्, निर्भीक र सर्वस्वीकार्य व्यक्ति कार्की नै हुने छलफलमा सहभागी जेन–जीहरूले बताएका थिए।

सुशीला कार्कीले नमाने मात्रै वैकल्पिक नाममा जानुपर्ने उनीहरूको भनाइ थियो । उनीहरूले वैकल्पिक नाममा बालेन साह, सागर ढकाललाई अघि सारेका थिए। गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्ति, जसले राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफलमा गर्न सक्ने व्यक्तिका हिसाबले कार्की, साह र ढकाललाई अघि सारेका भनिएको छ। जेन–जी आन्दोलनकारीका नेतृत्व लिने र वार्तामा बस्ने कोही व्यक्ति पनि अघि सरिरहेका छैनन्। अहिलेसम्म सेनाको मुख्यालयमा त्यसको नेतृत्वसहित कोही पुगेका छैनन्। केही युवा पुगे पनि उनीहरूले स्पष्ट कुरा राखेका थिएनन्।

मंगलबार राति भएको अनौपचारिक वार्ताका एक सहभागीका अनुसार बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग संयुक्त रूपमा वार्ता गर्न जेन–जीका विभिन्न समूहबिच छलफल भएको थियो। मंगलबार राति र बुधबार बिहान भर्चुअल गरी तीन पटक छलफल गरेका उनीहरूले कुनै अजेन्डा तय गर्न सकेनन्।

 बुधबार तीन घण्टा छलफल गरेका उनीहरूले कुनै नेतृत्वलाई अघि सार्न सकेनन् । भ्रष्टाचार र सुशासनका निम्ति अभियान प्रारम्भ गरेर सत्ता ढाल्ने तहसम्म पुगेको युवा पुस्ताको जेन–जी समूह नयाँ सरकार गठन प्रक्रियाका र शान्ति तथा अमनचैनका निम्ति अग्रसर भएको छ। स्रोतका अनुसार मंगलबार राति विभिन्न जेन–जी समूहका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए।

बुधबार दिउँसो पनि छलफल गरेका थिए । ती छलफलहरूमा शिव यादव, रक्षा बम, समय खड्का, पुरुषोत्तम यादव, तनुजा पाण्डे, अमित खरेल, धिरज जोशी, योञ्जन राजभण्डारी, वर्षा बुढाथोकीलगायत जेन–जीका प्रतिनिधि सहभागी थिए। तर यसबिचमा दुर्गा प्रसाईं र रास्वपाले फरकफरक नाम पठाएपछि जेन–जी युवाहरू वार्ता छाडेर हिँडेका थिए।

को हुन् कार्की?

 सुशीला कार्की नेपालको सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायधीश पनि हुन्। उनले २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म यो पद सम्हालेका थिइन्। उनको जन्म २००९ जेठ २५ मा मोरङको विराटनगरको शंखपुरमा भएको थियो। बिपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध रहेकी सुशीलका पति दुर्गा सुवेदी प्रजातान्त्रिक सेनानी हुन्।

सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीति शास्त्रमा एमए गरिन्। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छन्। उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्राध्यापन पनि गरेकी थिइन्। २०३५ सालमा वकालत सुरु गरेकी उनले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारीसमेत सम्हालिन्। २०६१ मा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन्। २०६७ सालमा उनी स्थायी न्यायाधीश भइन्। २०७३ सालमा प्रधानन्यायाधीश नियुक्त भएकी कार्कीले मुद्दा उल्टाएर लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट हटाएकी थिइन्। साथै उनले धेरैभन्दा धेरै भ्रष्टाचारको मुद्दा फैसला गरेकी छन्।  

प्रकाशित: २६ भाद्र २०८२ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App