६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओली लक्षित सुरेन्द्रको प्रहार: ‘धरहरा मैले बनाएको भन्नेले गोली चलाइनँ भन्न मिल्दैन’

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्कालीन प्रधानमन्त्री तथा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

पाण्डेले आफ्नो सरकारका राम्रा कामको जस लिने तर गम्भीर घटनाको जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै अध्यक्ष ओलीप्रति निशाना साधेका हुन्।

चितवनमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले जेन-जी आन्दोलनको क्रममा भएको भदौ २३ गतेको घटनामा सरकार प्रमुखको हैसियतमा रहेका ओलीले ‘गोली कसले चलायो थाहा छैन’ भनेर दिएको अभिव्यक्तिको खण्डन गरे।

‘धरहरा कसले बनायो ? मैले बनाएँ भन्ने, अनि गोली कसले चलायो ? त्यो त थाहा छैन, त्यसो भन्न मिल्छ ?’ पाण्डेले व्यङ्ग्यात्मक प्रश्न गरे, ‘त्यसो भन्न मिल्दैन। बरु त्यो बेला सरकारको नियन्त्रण किन भएन, त्यो पनि छानबिन गरौँ भन्नुपर्छ।’

उनले भदौ २३ गतेको घटनामा १९ जना नागरिकको ज्यान जानेगरी गोली चल्नु इतिहासकै दुःखद घटना भएको टिप्पणी गरे।

‘नेपालको इतिहासमा मात्र होइन, विश्वभरि हेर्दा बंगलादेशको आन्दोलनमा समेत पहिलो दिन एक-दुई जना मात्रै मरेका रहेछन्। हामीकहाँ पहिलो दिन नै १९ जना मर्ने गरी गोली चल्यो, त्यो कुरा गलत नै हो,’ उनले भने।

पाण्डेले घटनाको जिम्मेवारी तत्कालीन एमाले सरकारले लिनुपर्नेमा जोड दिँदै भने, ‘त्यो जसले गरेको भए पनि, एमालेको सरकार थियो। सरकार दोषी हुन्छ, हुन्छ।’

उपाध्यक्ष पाण्डेले भदौ २३ को घटनाको प्रतिक्रियामा भोलिपल्ट भएको आगजनी र तोडफोडको घटना पनि उत्तिकै अक्षम्य रहेको बताए।

उनले भदौ २३ को घटना नभएको भए २४ को अवस्था नआउने तर्क गर्दै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

‘सिंहदरबार जलाउन पाइन्छ ? व्यक्तिका घर, अदालत जलाउन पाइन्छ ? पार्टी कार्यालय जलाउने, अरूका सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्न मिल्छ ? मिल्दै मिल्दैन,’ उनले प्रश्न गरे, ‘यदि कानुनी शासन भएन र जे पनि गर्न पाइन्छ भन्ने हो भने यो देश चल्छ ?’

उनले अपराधमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। ‘गम्भीर अपराधमा संलग्न छन् भने एमालेका नेता-कार्यकर्तामाथि पनि कारबाही हुनुपर्छ र त्यसमा हामीले समर्थन गर्नुपर्छ,’ पाण्डेले भने।

प्रकाशित: २६ कार्तिक २०८२ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App