सुनसरीलगायत विभिन्न जिल्लामा हालै घटेका संवेदनशील तथा दुःखद घटनाप्रति प्रमुख राजनीतिक दलहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले शान्ति, सामाजिक सद्भाव र संयमता अपनाउन देशवासीलाई संयुक्त अपिल जारी गरेको छ। रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकले पछिल्ला घटनाहरूमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
नेपालको पहिचान विविधताबिचको एकता र सहअस्तित्व भएको उल्लेख गर्दै दलहरूले आवेग र मुठभेडले समस्या समाधान नभई थप जटिलता मात्र निम्त्याउने बताएका छन्। लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव हुने ठहर गरिएको छ।
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने हुँदा प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्नुपर्नेमा जोड दिइएको छ। यसका साथै, स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर सक्रिय हुन भनिएको छ।
संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले स्थितिलाई भयावह बनाउन सक्ने भएकाले सञ्चारमाध्यम र नागरिकलाई संयमित र तथ्यपरक बन्न आग्रह गरिएको छ। नागरिकको जिउधनको रक्षा गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।
बैठकमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महसचिव शंकर पोखरेलले वक्तव्य जारी गरेका हुन्। त्यस्तै, वक्तव्यमा श्रम संस्कृति पार्टीबाट आरेन राई, महन्थ ठाकुर (लोसपा), राजेन्द्र लिङ्देन (राप्रपा), सीके राउत (जनमत पार्टी) र प्रकाश अधिकारी (जसपा नेपाल) पनि रहेका छन्।
संयुक्त अपिल हेर्नुस्


प्रकाशित: १३ श्रावण २०८३ १२:२६ बुधबार


-600x400.jpg)


