राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग चार घण्टासम्म राजनीतिक र समसामयिक सबै विषयमा छलफल भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री बालेनसँग भएको सघन वार्ताबारे जानकारी दिएका हुन्।
सभापति लामिछानेका अनुसार दुई शीर्ष नेताबीचको छलफल मुख्य रूपमा सुकुम्बासी समस्याको दीर्घकालीन र प्रभावकारी समाधान खोज्ने विषयमा केन्द्रित थियो।
‘हामीले समग्र विषयमा, विशेष गरी सुकुम्बासी समस्या समाधान गर्नका निम्ति चाल्नुपर्ने कदम र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गर्यौँ,’ उनले भने, ‘यस व्यवस्थापनका क्रममा गरिब आम नागरिकले दुःख पाउनु हुँदैन भन्ने विषयमा हामीले बढी चिन्ता र चासो व्यक्त गरेका छौं।’
छलफलमा सुकुम्बासी समस्याका अतिरिक्त समसामयिक राजनीतिक परिस्थितिका विविध आयामबारे समेत घनीभूत समीक्षा गरिएको उनले बताए।
सभापति लामिछानेले राष्ट्रिय राजनीतिका समसामयिक मुद्दाहरू, मुलुकको पछिल्लो परिस्थिति र आगामी दिशाका बारेमा दुई नेताबीच कुराकानी भएको बताए।
लामो समयसम्म चलेको उक्त संवाद निकै सकारात्मक रहेको दाबी गर्दै लामिछानेले थपे, ‘दुई शीर्ष नेताबीच भएको यो राजनीतिक छलफल एकदमै सौहार्दपूर्ण र परिणाममुखी रह्यो।’
प्रकाशित: ३० असार २०८३ १६:४९ मंगलबार





