३१ असार २०८३ बुधबार
image/svg+xml
अर्थ

व्यावसायीको माग: भारतीय सवारीको पहुँचलाई नियमन गरौं

पोखराबाट छोटो समयमा मुस्ताङको मुक्तिनाथसम्म भारतीय पर्यटक आवतजावत गर्ने तथा भारतीय नम्बर प्लेटका सवारीसाधन नै त्यहाँसम्म पुग्ने क्रम बढेकाले समस्या बढ्दै गएको भन्दै यहाँका पर्यटन व्यवसायीले त्यसलाई नियमन गर्न सरकारसँग आग्रह गरेका छन्।

मुक्तिनाथ क्षेत्रसम्म भारतीय नम्बर प्लेटका सवारीसाधनको अनियन्त्रित आवतजावतलाई समयमै नियमन नगरे समस्या थपिने व्यवसायीको चिन्ता छ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयोजनमा पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) र पर्यटन व्यवसायीबीच भएको छलफलमा व्यवसायीले भारतीय सवारीसाधनको व्यवस्थापनमा बढी जोड दिएका थिए।

जथाभावी रूपमा उच्च हिमाली भेगसम्म सवारीसाधन लैजाँदा जोखिम बढेकाले त्यसलाई नियमन गर्नुपर्ने व्यवसायीको भनाइ थियो।

‘पछिल्लो समय मुक्तिनाथसम्म पर्यटक बोकेर भारतीय सवारीसाधन जाने गरेका छन्। हिमाली भेगको यात्रा सुरक्षित हुनुपर्छ। जोखिमपूर्ण सडक भएकाले पनि हतारको यात्राले समस्या निम्त्याउन सक्छ। त्यसलाई नियमन गर्नुपर्ने कुरामा व्यवसायीको जोड थियो,’ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले भने, ‘नेपालको पर्यटन गन्तव्य सुरक्षित हुनुपर्छ भन्नेमा सबैको जोड थियो। नेपाल भ्रमणका क्रममा कुनै पनि प्रकारको जोखिम हुनु हुँदैन।’

मुक्तिनाथसम्मको यात्रालाई सुरक्षित बनाउन सवारीसाधनका लागि समय व्यवस्थापन गर्दै ‘टाइम कार्ड’ लागू गर्न सकिने विषयमा पनि छलफल भएको लामिछानेले बताए।

भारतीय व्यवसायीले मात्र नभई नेपाली व्यवसायीले पनि पोखराबाट पर्यटकलाई छोटो समयमा मुक्तिनाथ पुर्‍याएर फर्काउने गरेको भन्दै त्यसलाई पनि नियमन गर्न आवश्यक रहेको उनले बताए।

कतिपय पोखराका व्यवसायीले बिहानै पर्यटकलाई पोखराबाट लगेर मुक्तिनाथ दर्शन गराई बेलुकी अबेरसम्म पुनः पोखरा फर्काउने गरेको गुनासो पनि आएको उनले बताए। व्यवसायीले मात्र नभई भारतीय नम्बर प्लेटका सवारीसाधनले पनि पर्यटकलाई हतारमा मुक्तिनाथसम्म पुर्‍याउने गरेकाले जोखिम बढेको भन्दै यस विषयमा सचेतना आवश्यक रहेको लामिछानेले बताए।

पर्यटनमन्त्री खडकराज पौडेलले पनि भारतीय सवारीसाधनको नियमनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताएका थिए।

प्रमुख पर्यटकीय मार्गमा भारतीय पर्यटकको सहजताका लागि ‘रेस्ट हाउस’ (विश्रामगृह) सञ्चालनमा ल्याइने उनले जानकारी दिए। साथै, आवश्यकता र उपयुक्तताका आधारमा गैरनेपाली (विदेशी) सवारीसाधनको कानुनी नियमन पनि तत्काल सुरु गरिने उनले बताए।

त्यस्तै, मन्त्री पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न तथा सोझा उडान गर्ने एयरलाइन्स र पर्यटकलाई आकर्षित गर्न विशेष छुट तथा सहुलियत प्याकेज ल्याइने जानकारी गराएका थिए।

नेपाली हवाई क्षेत्रलाई युरोपेली युनियन (ईयू) को हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि उनले बताए।

त्यसबाहेक, अब बन्ने नयाँ पर्यटन ऐन र नियमावलीमा सगरमाथाको चाप घटाउन ७ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गरेको अनुभवबिनै सगरमाथा आरोहण गर्न नपाइने कानुनी व्यवस्था गरिने पनि मन्त्री पौडेलले बताए।

साहसिक पदयात्रा गन्तव्यको पहिचान स्थापित गर्न कम्तीमा ५० वटा नयाँ ट्रेकिङ ट्रेलको विकास र संरक्षणका लागि ‘ट्रेल संरक्षण ऐन’ ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए।

तनहुँको बन्दीपुर मोडेलमा देशका विभिन्न भागमा ५० वटा नमुना पहाडी स्टेसन विकास गर्ने सरकारी लक्ष्य रहेको मन्त्री पौडेलले बताए। ती स्टेसनमा सरकारले विद्युतीकरण, सडक तथा खानेपानीलगायतका पूर्वाधार विकास गर्ने उनले बताए।

आगामी दशकलाई ‘वेलनेस दशक’का रूपमा अघि बढाइने तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा ‘वेलनेस टुरिजम’ विषयमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी पनि मन्त्री पौडेलले पर्यटन व्यवसायीलाई दिएका थिए।

प्रकाशित: ३० असार २०८३ २१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App