१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमानको पार्टी घोषणा सभामा पुगेर सुमनाले भनिन्- देश बनाउन सबै एकजुट हुनुपर्छ

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा घोषणा हुन लागेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा पुगेकी पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्तिहरूबीच एकताको अपरिहार्यता औँल्याएकी छन्।

बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै श्रेष्ठले पुराना राजनीतिक संस्कार र दलहरूलाई विस्थापित गर्न वैकल्पिक शक्तिहरू अलग–अलग बाटोमा नभई एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग रहेकी श्रेष्ठले आफ्नो राजनीतिक गन्तव्यबारे भइरहेका टीकाटिप्पणीको जवाफ दिँदै आफू एकताको पक्षमा रहेको स्पष्ट पारिन्।

‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ म भन्छु– सुमना एकतामा छ,’ उनले भनिन्, ‘पुराना राजनीतिक संस्कार, नातावाद र कृपावाद जस्ता विसङ्गतिलाई तोड्न हामी एक ठाउँमा उभिनै पर्छ। यदि हामी फरक–फरक बाटोमा हिँड्ने हो भने पुराना पार्टीहरूलाई फेरि रेड कार्पेट ओछ्याएर ‘आउनुस् देश लुट्नुस्’ भनेर बोलाए जस्तै हुन्छ।’

उनले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर साझा एजेन्डामा सहकार्य गर्न सबैलाई आह्वान गरिन्। ‘यो रेड कार्पेट र पुरानो राजनीतिक संस्कारलाई निषेध गर्नको लागि सबैजना एकै ठाउँमा आउनुको विकल्प छैन,’ उनले भनिन्।

प्रकाशित: १७ मंसिर २०८२ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App