२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियताको निरन्तर अग्निपरीक्षा लिने प्रवृत्तिप्रति सुमनाको आक्रोश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व सांसद सुमना श्रेष्ठले नेपालमा ‘विविधतामा एकता’ नारामा मात्र सीमित भएको र व्यवहारमा भने मानिसको अनुहार र पृष्ठभूमि हेरेर राष्ट्रियतामाथि प्रश्न उठाउने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रवृत्तिले सामाजिक सद्भावमा खलल पुर्‍याउने र विदेशमा पढेर फर्केका नेपालीहरूलाई अपमानित गर्ने काम भएको बताएकी हुन्।

उनले लेखेकी छन्, ‘खाँटी राष्ट्रवादी राजा महेन्द्रको नाम बोकेको महेन्द्रमालामा पढेको - ‘विविधतामा एकता।’ राम्रो सुनिनलाई मात्र रहेछ। व्यवहारमा चै आँखा चिम्सो देख्यो- तिब्बती शरणार्थी, छाला कालो देख्यो- बिहारी, उहाँहरूको नागरिकता नक्कली, पक्कै पैसा खुवाएर निकालेको हुनै पर्छ भनिहाल्ने।’

श्रेष्ठले सुदन गुरुङ र टासी शेर्पा जस्ता व्यक्तिहरूको नागरिकतामाथि उठाइएको प्रश्नको उदाहरण दिँदै असली नेपाली को हो ? भनी प्रश्न गरिन्।

‘विदेशमा कसैले ‘आर यु इन्डियन’ भनेर सोध्दा कतिलाई रिस उठेको छ ? नेपाली जस्तो नदेखिनेलाई आफ्नै देशमा नागरिकताको आधिकारिकता पुष्टि गर्न पर्दा कस्तो हुन्छ ?’ उनले भनेकी छन्।

विदेशमा पढेकाहरूलाई विदेशी एजेन्टको आरोप लगाउने प्रवृत्ति प्रति पनि उनले आलोचना गरिन्।

‘देउवाले अक्सफोर्डमा पढेको मान्छे किन चाहियो भनेको पनि ठिक रहेछ हैन त उसो भए, विदेशी विश्वविद्यालयमा पढ्ने बित्तिकै त्यहीको खुफिया एजेन्ट हुने रहेछ त,’ उनले व्यङ्ग्यात्मक टिप्पणी गर्दै सोधेकी छन्, ‘राजा विरेन्द्र पनि इटन पढेका, उहाँ पनि बेलायती एजेन्ट ?’

उनले यस्तो अपमानजनक र निरन्तर राष्ट्रियताको अग्निपरीक्षा लिइरहने हो भने विदेशमा पढेर कोही पनि स्वदेश नफर्किने तर्क गरेकी छन्।

हरेक परिवारका सदस्य विदेशमा रहेको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘पश्चिमा देशमा गएका र उसको परिवार सब अमेरिकन एजेन्ट, युरोपियन दलाल, खाडीमा काम गर्न गएकाहरूको परिवार इस्लामिक अतिवादीका हिमायतीहरू, भारतमा पढ्न गएका, काममा गएकाहरूलाई भारतीय रअको एजेन्ट मानिदिने हो भने को चाहि बाँकी हुन्छ ?’

कवि भूपि शेरचनलाई उद्धृत गर्दै उनले नेपाल ‘हल्लै हल्लाको देश’ भएको र यहाँ जो पनि एजेन्ट र दलाल देख्ने तथा जता पनि षड्यन्त्र देख्ने प्रवृत्ति हाबी भएको बताइन्।

उनले हल्ला र अपुष्ट समाचारहरू पत्याउनुअघि स्रोतको विश्वसनीयता जाँच्न र शंकास्पद कुराहरू तुरुन्तै शेयर नगर्न सबैलाई आग्रह गरेकी छन्।

‘हामीले गर्व गर्न लायकको सामाजिक सद्भावलाई बचाइ राखौँ,’ उनले लेखेकी छन्।

प्रकाशित: २९ आश्विन २०८२ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App