राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय हुने अवस्थामा पुगेको भन्दै कानुन निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सदस्यले दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा समयावधि पुगेका सांसदले कानुन निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिएका हुन । सांसद देवेन्द्र दाहालले सभालाई विज्ञहरूको सभा बनाउनुपर्ने सुझाव दिएका थिए भने विज्ञ र बौद्धिक सदस्य छनोट गरेर राजनीतिक दलले सभामा पठाउनुपर्ने धारणा समेत राखेका थिए ।
फागुन २१ गते १९ जना सभासदस्यको पदावधि समय सकिने हुदाँ संवैधानिक व्यवस्थाबमोजिम छ वर्ष पदावधि पूरा गरेका एक तिहाइ सभा सदस्य आगामी फागुन २० गतेदेखि बिदाइ हुन लागेका छन् ।
संसदीय अभ्यासका क्रममा प्राप्त अनुभव साझा गर्ने क्रममा सदस्य गङ्गाकुमारी बेल्वासेले समितिले विभिन्न आवश्यक कानुन सम्पादन कार्य भइरहेको र यस क्रममा थुप्रै काम सिक्ने अवसर मिलेको बताइन् । राष्ट्रियसभामा रहेका विधेयकहरू प्रतिनिधिसभा विघटन हुँदा निस्क्रिय हुने अवस्थामा पुगेका भन्दै यो अवस्था उचित नरहेको बताइन् । ‘ठूलो मेहनत र स्रोत लगानी गरेर बनेका विधेयक अन्तिम समयमा निस्क्रय हुनु राम्रो होइन। निजामती विधेयक, शिक्षा विधेयक महत्वपूर्ण विधेयक निस्क्रिय हुँदा चिन्ता लागेको छ ।’ उनले भनिन् ।
सदस्य तुलसीकुमारी दाहालले सङ्घीय सरकारको दुई सदन समान रूपले महत्वपूर्ण छन् भन्ने बुझाउन नसकिएको बताइन् । उनले जनताको जीवनस्तरमा अझै पनि सुधार गर्न नसकेको गुनासो गरेकी थिइन् ।
सभा सदस्य गोपाल भट्टराईले राष्ट्रियसभामा बनेका कानुनलाई विभिन्न कारणले निस्क्रिय बनाउने अवस्था हटाएर कानुनी निर्माणका अवरोधमाथि समीक्षा गर्नुपर्ने बताए ।
प्रकाशित: २८ माघ २०८२ १६:१५ बुधबार




-600x400.jpg)
