१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

१५ वर्षसम्म स्थिर कर नीति कायम गछौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मविश्वास गुमाएको अर्थतन्त्रलाई सबल बनाउन विश्वासको वातावरण बनाउनेतर्फ अग्रसर हुन जरुरी रहेको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको मधेस प्रतिज्ञासभामा बोल्दै सभापति थापाले मुलुकको अर्थतन्त्रमा जताततै आत्मविश्वासको कमीको कारणले लगानीमैत्री वातावरण नभएकाले पनि कांग्रेस नेतृत्वको सरकार आएको खण्डमा अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे।

'हामीलाई यहाँ विश्वास चाहिएको छ। सेयर तथा पुँजीबजारमा काम गर्नेलाई पनि विश्वास चाहिएको छ। स–साना व्यवसाय गर्नेलाई पनि विश्वास चाहिएको छ', सभापति थापाले भने। उनले कांग्रेसले ल्याएको चुनावी प्रतिज्ञापत्रमा वर्षको रु १० लाखसम्म आम्दानी गर्ने प्रत्येक नेपाली नागरिकले एक रुपैयाँ पनि कर तिर्न नपर्ने व्यवस्था गर्ने गरी प्रतिज्ञापत्र ल्याएको जानकारी दिए।

'कम्तीमा १०–१५ वर्षसम्म नेपालको कर नीति स्थिर रहने व्यवस्था गछौँ', उनले भने, 'पहिला थुन्ने अनि सुन्ने होइन। अब पहिला सुन्ने अनि थुन्ने व्यवस्था गर्छौँ।'

सभापति थापाले व्यापारी तथा व्यवसायीको मनोबल नबढाइकन आर्थिक गतिविधि चलायमान हुन नसक्ने स्पष्ट पारे। उनले भने, 'आर्थिक गतिविधि नबढाइकन यहाँ रोजगारी सृजना हुनै सक्दैन।' रोजगारी सृजना सरकारी निकायले मात्रै नभएर निजी क्षेत्रले पनि रोजगारी सृजना गर्न सक्ने बताए। 

प्रकाशित: १७ फाल्गुन २०८२ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App