काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै ईश्वर पोखरेललाई समर्थन गरेको घोषणा गरेकी छन्।
शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आयोजित कार्यक्रममा एमालेका उम्मेदवार पोखरेलको उपस्थितिमा पौडेलले समर्थन गर्ने घोषणा गरेकी हुन्। पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई समर्थन गरेको स्पष्ट पारिन्।
आम जनता पार्टीबाट उम्मेदवारी दिएकी पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरिन्। पौडेलले काठमाडौं-५ मा करिब ३ हजार मत पोखरेलको पक्षमा तान्न सक्ने अनुमान गरिएको छ।
कार्यक्रममा पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सही ठाँउमा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन्। पोखरेलले अहिले मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिगबाट बाहिर रहेकाले त्यसलाई सही ठाँउमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनलाई सही परिणाम दिने अवसरको रूपमा परिणत गर्नुपर्ने बताएका हुन्।
‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रूपमा लिनुपर्छ जस्तो लाग्छ। त्यो जनमत संग्रह भनेको देश बनाउनेहरू र बिगार्नेहरूबीचको जनमत संग्रह हो। त्यसकारण नेकपा (एमाले)ले देश बनाउनेहरूको प्रतिनिधित्व गर्छ,’ पोखरेलले भने। उनले केही शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोसिस गरिरहेको पनि बताए।
‘देश बिगार्नेहरू पनि छन्। र तिनीहरू पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोसिस गरेका छन्। तर हाम्रो कोसिस, नेकपा एमालेका कोसिस के भने देश बनाउनेहरूले निर्णायक शक्तिको रूपमा आउनु पर्छ। हामी यो निर्वाचनलाई त्यो परिणाममा पुर्याउन चाहन्छौँ,’ पोखरेलले भने।
उनले आगामी निर्वाचनमा सहभागी भएर मुलुक रुपान्तरणको अभियानमा साथ दिन समेत आह्वान गरे। देशभन्दा ठूलो कुरा अरू केही हुन नसक्ने भन्दै पोखरेलले हित विपरीत भइरहेका गतिविधिविरुद्ध देशभक्तहरू एक ठाउँमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको धारणा राखे।
अहिलेको निर्वाचन देश बनाउने र देश बिगार्नेबीचको जनमत संग्रह भएकाले देश बनाउने पक्षलाई जनताले साथ लिने उनको विश्वास छ।
एमालेले शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, रोजगारीको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा, यी यस्ता विविध क्षेत्रमा– कृषिमा, उद्योगमा, पूर्वाधारमा, ऊर्जामा केन्द्रित भएको पोखरेलको भनाइ छ।
यसैबीच काठमाडौं क्षेत्र नम्बर ५ मा सक्रिय रास्वपाका १४ जनाले पार्टी परित्याग गरेका छन्। बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्।
यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले राजीनामा दिइएको उल्लेख छ।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समीप घले र कवि थापा मगर छन्। यसैगरी, वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभ सेढाइं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जीवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन्।
प्रकाशित: १७ फाल्गुन २०८२ १०:२६ आइतबार





-600x400.jpg)