नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको जुनसुकै कुनामा उभिएर हेर्दा पनि एमालेले गरेको विकास देखिने दाबी गरेका छन्।
सोमबार झापामा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामकाजबारे जानकारी दिए।
उनले भने, ‘फुङ्लिङमा बसेर हुम्लाको कुरा गर्नु पर्दैन, हुम्लामा बसेर तराईको कुरा गर्नु पर्दैन। जुन ठाउँमा उभिएको छ, त्यहीँबाट वरिपरि हेर्यो भने एमालेले गरेको विकास देखिन्छ।’
अध्यक्ष ओलीले एमाले जनताको सुखदुःखको साथी भएको बताए। ‘यो पार्टीले आमाको गर्भमा हुँदादेखि मृत्यु संस्कारसम्मका लागि काम गरेको छ,’ उनले भने।
एमालेले बालबालिका, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किसान, मजदुर, शिक्षक, कर्मचारी र सुरक्षा निकाय लगायत सबै वर्ग र समुदायको हितमा काम गरेको उनको दाबी थियो।
झापाको विकासबारे चर्चा गर्दै उनले विगतमा टुकी र लालटिन बाल्नुपर्ने अवस्थाबाट अहिले घरघरमा बिजुली र फाइबर नेट पुर्याएको बताए।
‘हिजो रतुवा र मावामा बाँसका पुल थिए, आज पक्की पुल छन्,’ उनले भने, ‘कालोपत्रे सडक जनताको आँगनसम्म पुगेको छ। पहिले कालोपत्रे हेर्न राजमार्ग धाउनुपर्थ्यो, अहिले घरअगाडि नै कालोपत्रे छ।’
सशस्त्र प्रहरीको जग्गा लिएर रंगशाला बनाउन लाग्दा अन्य दलले अनावश्यक विवाद झिकेको भन्दै उनले भने, ‘विवाद नामको होइन, काम गर्न नदिने उद्देश्यले झिकिएको हो। तर, कसैले रोकेर रोकिँदैन, हामी रंगशाला बनाएरै छाड्छौँ।’
उनले दशरथ रंगशाला पुनर्निर्माणदेखि पोखरा र सुर्खेतमा रंगशाला बनाएको उदाहरण दिँदै एमाले विकास विरोधी नभएको जिकिर गरे।
अध्यक्ष ओलीले सुकुम्बासी समस्या समाधानमा एमाले सरकारमा पुग्नेबित्तिकै आयोग बन्ने तर सरकार ढल्नासाथ आयोग विघटन हुने गरेको गुनासो गरे।
‘हामीले धनीपुर्जा बाँड्न थालेपछि सरकार ढल्छ, आयोग खारेज हुन्छ,’ ओलीले भने, ‘तर अहिले फेरि सर्वोच्च अदालतको आदेशबाट आयोग फिर्ता आएको छ, अब सुकुम्बासीको काम अघि बढ्छ।’
प्रकाशित: ११ फाल्गुन २०८२ १६:०४ सोमबार





