१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

खेलाडीको बिजोगप्रति आक्रोशित खेलकुदमन्त्री, एन्फा महासचिवलाई टेलिफोनमै गरे सोधपुछ

राष्ट्रिय महिला फुटबल टोलीको भारत भ्रमणका क्रममा भएको व्यवस्थापकीय कमजोरी प्रति नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले चासो व्यक्त गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई टेलिफोनमार्फत स्पष्टीकरण सोधेका छन्।

खेलाडीहरूले उचित खाना, आराम र यात्राको प्रबन्ध नपाएको गुनासो बाहिरिएपछि मन्त्री गुप्ताले महासचिव राईलाई फोन गरी एन्फाको व्यवस्थापकीय कमजोरीप्रति आक्रोश व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको संवादमा मन्त्री गुप्ताले खेलाडीहरूको बिजोग भएको विषयमा महासचिव राईसँग जवाफ माग गरे।

‘हाम्रो राष्ट्रिय खेलाडीहरूको विषय हो, उनीहरूको खाने, बस्ने र यात्राको उचित व्यवस्थापन भएन भन्ने कुरा आइरहेको छ,’ मन्त्री गुप्ताले फोनमा भनेका छन्, ‘खेलाडीले ३-४ घण्टा मात्र सुत्न पाएको, खाना समयमा नपाएको र यात्राले थकित भएको गुनासो छ। यो त तपाईंले गर्नुभएन नि।’

मन्त्री गुप्ताले कुनै पनि राष्ट्रिय टोलीलाई विदेश पठाउँदा त्यसको सम्पूर्ण कार्यतालिका, बस्ने-खाने स्थान र यात्राको विस्तृत योजना हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो खेलाडीलाई कहाँ खाना खुवाउँछ, कति बजे कहाँ जान्छ भन्ने तालिका नलिईकन कसरी पठाउनुहुन्छ ? राष्ट्रिय खेलाडी भइसकेपछि उनीहरूको हेरचाह गर्नु हाम्रो कर्तव्य हो।’

जवाफमा महासचिव राईले व्यवस्थापनको जिम्मा भारतीय दूतावास र भारतीय फुटबल फेडेरेसनले लिएको बताउँदै सिलिगुडी र सिलोङमा केही समस्या देखिए पनि हाल समाधान भइसकेको जवाफ दिए।

तर, मन्त्रीको प्रश्नको केन्द्रमा एन्फाले आफ्नो जिम्मेवारीबाट पन्छिएर सम्पूर्ण व्यवस्थापन ट्राभल एजेन्सी वा अन्य निकायलाई दिनु नै गलत भएको भन्ने थियो।

‘तपाईंलाई केही जानकारी नै छैन भन्नुहुन्छ,’ मन्त्रीले थप आक्रोशित हुँदै भने, ’यस्तै गल्तीले गर्दा खेलाडीले अभिव्यक्ति दिइरहेका छन्।’

मन्त्री गुप्ताले यस विषयमा विस्तृत छलफल गर्नुपर्ने बताउँदै एन्फाको व्यवस्थापकीय कमजोरीमाथि प्रश्न उठाए।

प्रकाशित: ११ कार्तिक २०८२ २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App