नेपाली कांग्रेसको विशेष महाधिवेशन आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण सम्पन्न गरिएको छ भने कुर्सी र साउन्ड सिस्टम जडानलगायतका तयारी पूरा भइसकेको छ।
आज बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने आयोजक समितिले जनाएको छ। ती सबै जुलुस भृकुटीमण्डपमा पुगेर समापन हुने छन्।
सुन्धाराबाट सुरु हुने जुलुस वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। रत्नपार्कबाट निस्कने जुलुस भने पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ।
त्यसैगरी, शंकरदेव क्याम्पसबाट निस्कने जुलुस पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। कमलपोखरीबाट सुरु हुने जुलुस चारखाल अड्डा–डिल्लीबजार–पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै गन्तव्यमा पुग्ने तय भएको छ।
कुपन्डोलबाट निकालिने जुलुस थापाथली–त्रिपुरेश्वर–सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
विशेष महाधिवेशनमा सहभागी हुने ठूला सवारी साधनको पार्किङका लागि सहिदगेटको उत्तरतर्फ टुँडिखेल क्षेत्रमा व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
प्रकाशित: २७ पुस २०८२ ०८:३५ आइतबार



