४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बनेमा राज्यको डोजर गरिबको झुपडीमा नभई भ्रष्टाचारीका आलिसान महलहरूमा चल्ने बताएका छन्।

बिहीबार सुर्खेतमा आयोजित वाचा पत्र २०८२ सार्वजनिक तथा परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुकुम्बासी र गरिबलाई तर्साएर राजनीति गर्ने दिन अब सकिएको बताएका हुन्।

‘हाम्रो सरकार आयो भने सुकुम्बासीलाई उठाउँछ, उठीबास लगाउँछ र डोजर चलाउँछ भनेर केहीले भ्रम छरिरहेका छन्। म कर्णालीको यो भूमिबाट प्रष्ट पार्न चाहन्छु, रास्वपाको डोजर चल्यो भने सबैभन्दा पहिले देश लुट्ने भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन।’

सुकुम्बासी र भूमिहीनका समस्यालाई रास्वपाले मानवीय र कानुनी दुवै कोणबाट समाधान गर्ने उनले बताए।

‘हामी कसैलाई पनि बेघरबार बनाउन आएका होइनौं। हामी गरिबलाई विस्थापित होइन, व्यवस्थित गर्न आएका हौं,’ लामिछानेले भने, ‘जसले दशकौंदेखि जमिन पाएका छैनन्, उनीहरूलाई अधिकार दिलाउनु हाम्रो प्राथमिकता हो। कानूनले कसैलाई अन्याय गरेको छ भने हामी संसद्बाट कानून फेरेर भए पनि जनतालाई अधिकार दिलाउँछौं।’

लामिछानेले वि.सं. २०४६ सालदेखिका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने आफ्नो पार्टीको नीतिगत प्रतिबद्धता दोहोर्‍याउँदै गलत गर्नेहरू मात्र रास्वपासँग डराउनुपर्ने बताए।

‘डराउनुपर्ने ती हुन् जसले जनताको पसिना लुटेर महल ठड्याएका छन्। रास्वपासँग ती डराउन् जसले देशलाई नर्क बनाउन खोजेका छन्, आम जनता डराउनु पर्दैन,’ उनको भनाइ थियो।

प्रकाशित: ७ फाल्गुन २०८२ १७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App