राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षभित्र नेपाललाई कृत्रिम बौद्धिकता (एआई) र कम्प्युटेसन शक्ति समेत निर्यात गर्ने देशका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेको छ।
बिहीबार सार्वजनिक १०० वाचा समेटिएको घोषणापत्रमा पार्टीले डिजिटल अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राखेको हो।
पार्टीले नेपाललाई फर्स्ट डिजिटल राष्ट्रका रूपमा चिनाउने लक्ष्यसहित प्रविधिलाई उत्पादन, व्यापार र रोजगारीको आधार बनाउने बताएको छ।
सरकारी तथा निजी क्षेत्रका सबै आर्थिक कारोबारलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी क्यासलेस समाज निर्माण गर्ने, भ्रष्टाचार तथा राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
रास्वपाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई देशकै सबैभन्दा ठूलो निर्यातजन्य उद्योग बनाउने लक्ष्य राखेको छ। त्यसका लागि आईटी सेवा र सफ्टवेयर निर्यातमा स्वचालित नगद प्रोत्साहन तथा केही वर्षसम्म आयकरमा पूर्ण छुट दिने व्यवस्था गरिने उल्लेख छ।
साथै, विश्वव्यापी श्रम बजारमा आएको परिवर्तनलाई आत्मसात गर्दै नेपालमै बसेर विदेशी कम्पनी वा निकायका लागि काम गर्न पाउने वातावरण सुनिश्चित गर्न कानुनी तथा नीतिगत प्रबन्ध गरिने पार्टीले वाचापत्रमा उल्लेख गरेको छ।
वाचापत्रमा नेपालले एसियाका प्रविधि केन्द्रहरूलाई लक्षित गर्दै एआई प्रशिक्षण र ग्रीन जीपीयू कम्प्युटिङ भाडा सेवा उपलब्ध गराउने र प्रति घण्टा एक किलोवाट बेच्ने नभई उच्च मूल्यको सर्भर प्रशोधन समय बेच्ने रणनीति लिने उल्लेख गरेको छ।
पाँच वर्षमा नेपाललाई सुरक्षित डिजिटल आश्रयस्थल बनाउन विशेष ऐन ल्याई लगानीकर्तालाई नेपाली अधिकारक्षेत्रभित्र डेटा भण्डारण गर्न पूर्ण कानुनी सुरक्षा प्रदान गरिने पनि वाचापत्रमा उल्लेख गरिएको छ।
प्रकाशित: ७ फाल्गुन २०८२ १६:४८ बिहीबार





