नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सञ्चालन हुँदैछ। यसबिच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भनेको छ।
भानु देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
अगाडि भनिएको छ, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’
विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको यो महाधिवेशनको बन्दसत्र आज महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछ। बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि पारित गरिनेछ। त्यसपछि सात प्रदेश, काठमाडौं उपत्यका र भ्रातृ/शुभेच्छुक/जनसम्पर्क समितिका गरी नौ छुट्टाछुट्टै समूह बनाई नीति, नियम, विधान तथा हालका राजनीतिक घटनाक्रमबारे गहन छलफल हुनेछ।
बन्दसत्रले राजनीतिक प्रतिवेदन एवं नीति पारित गर्नुका साथै हलको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन गर्ने कार्यसूची रहेको बताइएको छ।
प्रकाशित: २८ पुस २०८२ ०९:३३ सोमबार





