९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा दुई लाख १३ हजार कर्मचारी परिचालन हुँदै

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख १३ हजार पाँच सय कर्मचारीलाई परिचालन गर्ने भएको छ।

निजामती कर्मचारी तथा स्वयंसेवकसहित यति ठुलो संख्यामा कर्मचारी परिचालन गर्न लागिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार यो संख्यामा सुरक्षाकर्मीहरूको संख्या जोडिएको छैन। ‘निर्वाचनमा निजामती कर्मचारी, विभिन्न संघ, संस्थाका कर्मचारी तथा स्वयंसेवक समेत परिचालन गर्न लागेका हौं,’ न्यौपानले भने, ‘पाँच सयसम्म मतदाता भएको मतदान केन्द्रमा प्रति मतदान केन्द्र आठ जना तथा पाँच सयदेखि एक हजारसम्म मतदाता भएको मतदान केन्द्रमा प्रतिमतदान केन्द्र नौ जनाको दरले कर्मचारी परिचालन गर्नेछौं।’

उनका अनुसार आयोगले फिल्डमा खटिने मतदान अधिकृतलाई आवश्यक परे तत्कालै स्वयंसेवक कर्मचारी भर्ना गर्न सकिने अधिकार दिएको छ। त्यस्ता स्वयंसेवक कर्मचारीले निर्वाचनमा खटिने अन्य निजामती कर्मचारीसरह भत्ता र सुविधा पाउने. व्यवस्था गरिएको न्यौपानले बताए।

विभिन्न पार्टीसँग निकट कर्मचारी संघसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई भने आयोगले खटाउनेछैन। यसैगरी आयोगले केही कर्मचारीलाई रिजर्भका रूपमा राख्ने भएको छ ताकि कुनै ठाउँमा आवश्यक पर्‍यो भने तत्कालै खटाउन सकियोस्। निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिइने भएको छ। तालिमपछि उनीहरू फिल्डमा जानेछन्। निर्वाचनमा अन्तिम मतदाता एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जना छन्।

 निर्वाचन आयोगले शनिबार आन्तिम मतदाताको सूची सार्वजनिक गरेको छ। जसअनुसार नामावलीमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र अन्य दुईदुई गरी जम्मा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता पुगेको आयोगले जनाएको छ।

आयोगका अनुसार २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार आठ सय ६, महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको संख्या एक करोड ७९, लख ८८ हजार पाँच सय ७० थियो।

२०७९ सालको तुलनामा २०८२ सालमा कुल मतदाताको संख्या नौ लाख १५ हजार एक सय १९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या पाँच लाख २२ हजार पाँच ५२, महिला मतदाताको संख्या तीन लाख ९२ हजार पाँच सय ५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदान स्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ।

यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या आठ सय ८५ ले वृद्धि भएको आयोगले जनाएको छ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले निर्वाचनमा भाग लिन एक सय १४ वटा दलले दिएको दल दर्ता निवेदन स्वीकृत गरेको छ।

प्रकाशित: २८ पुस २०८२ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App