कानुनी विज्ञता, स्वभाव, बोली र व्यवहारले समकक्षीभन्दा अलि फरक मानिने सुवासचन्द्र नेम्बाङलाई करिब अढाई दशकसम्म उच्च ओहोदामा रहे । यो अवसर उनलाई इलामेली मतदाताले दिएका हुन् । २०५६ सालदेखि ७९ सम्मका निर्वाचनमा इलामबाट निर्वाचित नेम्बाङले सामान्य सांसदको मात्रै भूमिका निर्वाह गर्ने छुट पाएनन्, देशकै संविधान निर्माणको महत्वपूर्ण बागडोर उनको हातमा आयो ।
सामान्यतः सांसदको काम देशको विधि–विधान बनाउनु हो । त्यसलाई समयानुकूल परिमार्जित गर्दै नागरिकको जीवनयापन सहज बनाउनु हो । तर नेपालीको धारणा यो भइसकेको छ कि निर्वाचन जितेको क्षेत्रको भौतिक विकासको जिम्मासमेत सांसदले नै लिनुपर्छ । व्यावहारिक हिसाबले आफ्नो प्रतिनिधिले विकास गरिदेओस् भन्ने चाहना सर्वसाधारणमा हुनु अस्वाभाविक पनि होइन ।
कानुनका ज्ञाता मानिने नेम्बाङको नेतृत्वमा रहेको संविधानसभाबाट देशले नयाँ संविधान पायो २०७२ सालमा । निरन्तर दुई पटक संविधानसभाको अध्यक्ष हुँदा नेम्बाङले निर्वाह गरेको भूमिका र नयाँ संविधान जारी गर्दाको अवस्थासम्मलाई नागरिकले विभिन्न किसिमले मूल्यांकन गर्छन् । एकातिर संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याएर संविधानका धारा, उपधारामा सहमति गराउने चुनौती थियो भने अर्कोतिर स्वदेशभित्रैका दर्जनौं समूह र ‘बाह्य’ शक्तिसमेतलाई स्वीकार्य हुने संविधान बनाउने चुनौती पनि चानचुने थिए ।
नेम्बाङले इलामबाट निर्वाचित भएर देशका लागि के योगदान गरे, जिल्लाका लागि के गर्न सके भन्ने विषयमा उनको गृह जिल्लाका बासिन्दा, सहयात्री, सहकर्मी, उनीपछिको पुस्ताले विभिन्न दृष्टिकोण राखेका छन् । समग्रमा नेम्बाङ संविधान/कानुन निर्माणको नेतृत्वकर्ताका रूपमा अब्बल थिए भन्ने बुझाइ उनीहरूको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानसभाको अध्यक्ष रहेका बेला नेम्बाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्छन् । ‘दलहरूबिचमा समन्वय, सहजीकरण गरे नयाँ संविधान जारी गर्दासम्म नेम्बाङले प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ,’ नेम्बाङकै सहपाठीसमेत रहेका खनालले भने, ‘नेम्बाङको नेतृत्वमा जुन संविधान जारी भयो, त्यसको कार्यान्वयन गर्ने काम हाम्रो हो, संविधान जारी गर्दाका सपना पूरा गर्ने काम हाम्रो हो ।’ खनालले संविधान जारी भएपछिका सरकारले चाहिँ संविधान कार्यान्वयन नगरेको र देश अहिले संकटपूर्ण अवस्थामा आइपुगेको बताए ।
इलामकै एमाले नेता एवं पूर्वसांसद महेश बस्नेतले सबै जाति, भाषा सम्प्रदाय र क्षेत्रलाई समेत सम्बोधन हुनेगरी सहमतिको संविधान निर्माण गर्न नेम्बाङले अतुलनीय योगदान गरेको बताए । ‘स्वभावले पनि उहाँलाई साथ दिएको हुनुपर्छ, सबै दलको सहमति जुटाएर संविधान जारी गर्ने अवस्था सिर्जना गर्नु नेम्बाङको चानचुने भूमिका होइन,’ बस्नेतले भने, ‘लामो द्वन्द्वमा रहेको देशलाई संविधान निर्माणमार्फत निकास दिने कामको नेतृत्व गर्ने नेम्बाङ सबैको अविस्मरणीय पात्र हुनुहुन्छ ।’
बस्नेतले जिल्लाको विकासमा समेत नेम्बाङले महत्वपूर्ण काम गरेको बताए । ‘उहाँले लामो समय इलामको प्रतिनिधित्व गर्नुभयो, उहाँसँग आशा धेरै हुन सक्छन्, सबै पूरा हुने, सबै सन्तुुष्ट हुने त कुरा हुँदैन,’ बस्नेत भन्छन्, ‘नेतृत्व गरुञ्जेल उहाँले आफूले निर्वाह गर्नुपर्ने भूमिका कत्तिको गर्नुभयो, कत्तिको प्रयत्न गर्नुभयो भन्ने हेर्नुपर्छ, सकेसम्म राम्रै कामका लागि प्रयत्न गर्नुभएको छ ।’
नेपाली कांग्रेस इलाम जिल्लाका सचिव पूर्णप्रसाद गौतमले २००७ सालदेखि नेपाली जनताले आफैं लेख्ने सपना देखेको संविधान २०७२ सालमा नेम्बाङको नेतृत्वमा सफल भएको बताए । ‘यो ऐतिहासिक काम गर्ने जिम्मेवारी नेम्बाङले चुनौतीपूर्ण अवस्थामा पनि पार लगाउनुभयो,’ गौतमले भने, ‘तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र सुवास नेम्बाङको योगदानकै कारण जनताको संविधान जारी हुन सम्भव भयो ।’ गौतमले संविधान परिवर्तनीय दस्तावेज भएकाले नागरिकको आवश्यकताअनुसार यसलाई परिमार्जन गर्न सकिने बताए । ‘लोकतन्त्र, गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई यथावत् राखेर अहिले पनि धेरै विकल्प यही संविधानबाट खोज्न सकिन्छ,’ गौतमले भने, ‘यसको नेतृत्व गर्ने नेम्बाङको सफल भूमिकाको कदर सबैले गर्नुपर्छ ।’
गौतमले जिल्लाको विकास निर्माणमा नेम्बाङले सकेको प्रयत्न गरेको पनि बताए । ‘विकास निर्माणको कुरामा चाहिँ कतिपय पद्धतिगत, प्रक्रियागत जटिलता पनि थिए होला,’ उनले भने, ‘निर्वाचनका बेला सपना बाँड्ने र पूरा नहुँदा नागरिक असन्तुष्ट हुने समाज हो हाम्रो ।’ नेम्बाङको तहमा पुगेको नेताबाट विकासको क्षेत्रमा पनि निकै ठुलो अपेक्षा नागरिकले राख्नु स्वाभाविक भए पनि डाङडाङ डुङडुङ नगरी शान्त हिसाबले सकेको प्रयत्न भने उनले गरेको गौतम बताउँछन् ।
नागरिक समाजका अगुवा तथा नेम्बाङका अर्का सहपाठी धर्म गौतम विषम अवस्थामा नेम्बाङको नेतृत्वमा देशले संविधानसभाबाट संविधान पाएको बताए । ‘निकै जटिल अवस्थामा निर्माण भएको संविधान हो । अहिले मुलुकमा संकटको घडीमा आउनु विडम्बनापूर्ण छ,’ उनले भने, ‘संविधानमा कहींकतै त्रुटि छन् भने सच्याउनुपर्छ तर यसको उपलब्धि जोगाउनुपर्छ ।’ उनले फागुनका लागि घोषित निर्वाचन सफल बनाएर संविधान जोगाउनुपर्ने सुझाए ।
निर्वाचन क्षेत्र र जिल्लाको विकास निर्माणको सन्दर्भमा गौतमले सांसद वा संविधानसभामा निर्वाचित प्रतिनिधिको काम विकास गर्नु नभएको बताए । ‘हामीमा लामो समयदेखि गलत मानसिकता हाबी छ, कानुन बनाउन पठाइएका प्रतिनिधिले बजेट ल्याउने, विकास गर्ने होइन, त्यो सरकारको काम हो,’ गौतमले भने, ‘विकासको पाटो त सरकारको पो हो भन्ने सबैले बुझ्नुपर्छ । यद्यपि अहिले धेरैलाई सांसदले नै बजेट ल्याउँछन्, विकास गर्छन् भन्ने लाग्छ ।’
इलाम नगरपालिकाका उपप्रमुखसमेत रहेकी कांग्रेस नेतृ विष्णु दाहालले संविधान बनाउन नेम्बाङको भूमिका अतुलनीय रहेको बताइन् । ‘संविधान जारी गर्न सजिलो थिएन,’ उनले भनिन्, ‘तर नेम्बाङले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभयो, संविधान जारी भयो ।’ उनले नेम्बाङ स्वभावले पनि सबैको कुरा सुन्ने, कसैलाई नबिझाउने बौद्धिक नेता भएको बताइन् । ‘मेरो त वडा (इलाम ७) कै छिमेकी पनि हुनुहुन्थ्यो नेम्बाङ, देशको त्यो स्थानमा पुगेर देशलाई संविधान दिने कामको नेतृत्व उहाँले गर्नुभयो, यो गर्वको विषय हो,’ उनले भनिन् ।
एमाले इलाम जिल्ला अध्यक्ष गणेशप्रसाद बरालले नेम्बाङलाई ‘संविधानको पिता’ भन्दा अनुपयुक्त नहुने बताए । ‘बाहिरबाट हेर्दा संविधान जारी गर्न जति जटिल थियो, नेम्बाङले भन्नुभएका भित्री जटिलता अझ भयानक थिए,’ बरालले भने, ‘समग्रमा निकै चुनौती मोलेर संविधान बन्यो, जारी गर्न पनि उत्तिकै गाह्रो थियो । तर नेम्बाङको कुशलताले सम्भव भयो ।’
बरालले अहिले संविधानको विषयमा चर्चा भइरहेका बेला नेम्बाङको दूरदर्शिताको उचाइ अझ बढेको बताए । ‘अहिले संविधानबारे जुन चर्चा भइरहेको छ, यो संकटमा पनि संविधान बचाउनुपर्छ भन्ने सबैको धारणाले यसको महत्व बताउँछ,’ बरालले भने, ‘नेम्बाङले आफैं संविधान संशोधनीय दस्तावेज हो भन्नुभएकै थियो, आवश्यकताअनुसार संशोधन गरेर अघि बढ्नु प्रक्रियागत काम नै हो ।’ बरालले नेम्बाङले जिल्लामा कोरेका विकासका रेखालाई नै पूर्ण गर्नतिर सबै लाग्नुपर्ने बताए । ‘विकासका धेरै काम नेम्बाङले सुरुआत गर्नुभएको छ,’ उनले भने, ‘कतिपय पूर्ण भए, कतिपय बाँकी छन् तर एउटा राम्रो मार्गदर्शन दिनुभएको छ ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धीरेन शर्मा रमणले शान्तिप्रक्रिया र संविधान निर्माणमा नेम्बाङको योगदान रहेको बताए । ‘नेम्बाङ कानुन र संविधान निर्माणमा अनुभवी व्यक्ति भएका कारण संविधानसभाको सफल नेतृत्वकर्ता हुनुभयो,’ उनले भने । शर्माले नेम्बाङसँगको सहकार्यमा आफूहरूले पनि जिल्लामा विकासका काम गरेको तर तीव्र गतिमा अघि बढ्न भने नसकेको बताए ।
पुराना दल र नागरिक समाज मात्र होइन, नेम्बाङको योगदानलाई नयाँ दलका नेताले समेत प्रेरणाको स्रोत मान्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी इलामका सभापति टीका ओडारीले तत्कालीन परिस्थितिमा संविधानसभाको अध्यक्षता गर्दै देशलाई सहज ढंगले संविधान दिलाउने काम नेम्बाङकै कारण सफल भएको बताए । ‘उहाँको सरलता, निष्ठा र इमानदारी सबै नेपालीको प्रेरणाको स्रोत बन्नुपर्छ,’ ओडारीले भने, ‘आफ्नो जिम्मेवारी सौहार्दपूर्ण रूपमा निर्वाह गर्न उहाँबाट हामी सबैले सिक्नुपर्छ ।’
इलाम नगरपालिका–७, सुन्तलाबारीमा जन्मेका नेम्बाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए । २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका उनी केही पछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भएका थिए । २०५६, ७४ र ७९ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा नेम्बाङ इलामबाट विजयी भएका थिए । संसद्को सार्वजनिक लेखा समितिको अध्यक्ष हुँदै २०६३ वैशाख ३० देखि माघ १ सम्म सभामुख बनेका नेम्बाङ ०६३ माघ ३ पछि पनि पुनः सभामुख भए । २०६४ सालको संविधानसभा निर्वाचनपछि उनी ०६५ साउन १२ देखि २०६९ जेठ १४, २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म संविधानसभाको अध्यक्ष र व्यवस्थापिका संसद्को सभामुख भए ।
स्पष्टवक्ता, नम्र स्वभाव, अरू दलका नेतालाई पनि सम्मानजनक व्यवहार गर्ने, सबैसँग मिल्ने, समन्वयकारी, कानुनका ज्ञाता र असल राजनीतिक अभ्यासका धनी नेम्बाङसँग परिचित धेरैलाई लाग्थ्यो– सभामुख भनेकै सुवास नेम्बाङ, सुवास नेम्बाङ भनेकै सभामुख । नेम्बाङको २०८० भदौ २६ गते बिहान हृदयघातका कारण निधन भएको थियो ।
प्रकाशित: ३ आश्विन २०८२ ०७:२१ शुक्रबार





