२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

मतदानका लागि स्वदेश फर्कने बढे, गाउँ जानेकाे लर्को (तस्बिरहरू)

तस्बिरहरू : दिपेश दर्शनधारी/नागरिक

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। सोमबार मध्यरातदेखि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार पूर्ण रूपमा बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ। मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा प्रचारप्रसार, सभा–जुलुस, भाषण, छलफल, समीक्षा, मत माग्ने गतिविधि तथा सामाजिक सञ्जालमार्फत पोस्ट गर्न पाइँदैन। उम्मेदवार वा दलको पक्ष–विपक्षमा समाचार, विज्ञापन वा सूचना प्रकाशन–प्रसारण गर्नसमेत रोक लगाइएको छ।

मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी आर्थिक कारोबार, उपहार वितरण वा दबाब सिर्जना गरे उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कारबाही हुन सक्ने निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनसमेत निर्देशन दिइएको छ।

यसैबीच निर्वाचन लक्षित गरी विदेशबाट नेपाल फर्कने नेपालीको संख्या उल्लेख्य बढेको छ। अध्यागमन विभागका अनुसार सन् २०२६ को फेब्रुअरीमा १ लाख ४८ हजार ६२३ नेपाली स्वदेश फर्किएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २८ प्रतिशत बढी हो। सोही महिनामा १ लाख १५ हजार ४४२ विदेशी नेपाल आएका छन्। कुल आगमन २ लाख ६४ हजार ६५ पुगेको छ।

निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप पनि बढेको छ। गोंगबुस्थित नयाँ बसपार्कसहित चावहिल, कोटेश्वर, कलंकी, बल्खु र बालाजु क्षेत्रमा भीड बढेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार करिब साढे ९ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ।

स्वच्छ र भयरहित वातावरण सुनिश्चित गर्न भारत र चीनसँग जोडिएका सीमाक्षेत्रमा फागुन १८ मध्यरातदेखि २१ मध्यरातिसम्म आवतजावतमा रोक लगाइएको छ। आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App