२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानलाई सैन्य सहयोग गरेको आरोपमा बोल्यो चीन

चीनले इरानलाई सैन्य सहयोग गरिरहेको खबरको खण्डन गरेको छ। बेइजिङले इरानी सरकारलाई आफ्नो ‘मित्र’ स्वीकार गर्दै उसको भूमिको रक्षा गर्ने अधिकारलाई समर्थन गरे पनि, आफ्नो सहयोग केवल ‘राजनीतिक र नैतिक’ पक्षमा मात्र सीमित रहने स्पष्ट पारेको हो। 

चीनका विदेश मन्त्री वाङ यीले ओमान, इरान र फ्रान्सका समकक्षीहरूसँगको कुराकानीमा अमेरिका र इजरायलले जानाजानी कूटनीतिक प्रयासलाई ‘पटरीबाट हटाएको’ आरोप लगाएका छन्। चीनले तत्काल युद्धविराम गरी वार्ताको टेबुलमा फर्कन आह्वान गरिरहेको छ।

यसबिच अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले बताएका छन्। ‘इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अब्बास अराघचीले सोमबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने।

यो पनि पढ्नुहोस्

इरानले चीनलाई भन्यो: खाडी मुलुकप्रति कुनै दुर्भावना छैन, बेइजिङले के भन्यो?

उता, यस तनावको सीधा असर विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा देखिएको छ। इरान र ओमानबिच रहेको यो जलमार्गबाट विश्वको कुल तेल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओसारपसार हुन्छ। इरानी आईआरजीसी कमान्डरले यो मार्ग ‘बन्द’ गर्ने र आउन खोज्ने जहाजलाई ‘आगो लगाइने’ चेतावनी दिएपछि विश्व बजारमा हलचल मच्चिएको छ। यसको परिणाम स्वरूप ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ८० डलरको नजिक पुगेको छ र विज्ञहरूले यो मूल्य १०० डलरसम्म पुग्न सक्ने आशंका गरेका छन्।

यो संकटले विशेष गरी एसियाली देशहरूलाई बढी प्रभावित पार्ने देखिएको छ। चीन, भारत, जापान र दक्षिण कोरियाले आफ्नो ७० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै आयात गर्छन्। युद्धकै कारण एसियाली शेयर बजारमा पनि ठूलो गिरावट आएको छ। दक्षिण कोरियाको बजार ५ प्रतिशत र जापानको निक्केई २ दशमलव ३ प्रतिशतले घटेको छ। यद्यपि, रुससँग समेत तेल किन्ने गरेको चीनले आफ्नै तेल भण्डार गरिरहेको र ऊसँग करिब तीन महिना पुग्ने स्टक रहेकाले आफ्नो बजारलाई स्थिर राख्ने प्रयास गरिरहेको दाबी गरिएको छ। एजेन्सी 

प्रकाशित: १९ फाल्गुन २०८२ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App