रास्वपा सभापति रवि लामिछानेले संयमित भएर राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न अपिल गरेका छन्। साँझ एक अपिल जारी गर्दै उनले प्रहरी, सुरक्षा निकाय, न्यायालयलगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति भएकोले तिनको संरक्षण नगरे मुलुकका संवेदनशील दस्तावेजहरू नष्ट हुन सक्ने खतरा औंल्याएका छन्।
सभापति लामिछानेको अपिल:
‘आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।
यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ। यिनको निजी SIMULTANEOUSLY सम्पत्ति यिनको होइन, देशको तीन पुस्तालाई लुटेर यिनले जोडेका हुन्। यिनको बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनलाई कानुनी दायरामा ल्याउनैपर्छ। तर हामीले अब अत्यन्त संयमित भएर राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालयलगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकका संवेदनशील दस्तावेजहरू नष्ट हुन सक्छन्। जुन तपाईं-हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छ। सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुने भएकाले यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। यो आन्दोलन विशुद्ध जेनजीको हो। मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पनाअनुरूप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। र म सधैं नागरिक सर्वोच्चताको पक्षमा छु।
आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाइका लागि कानुनबमोजिमको प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भएर सिधै आम नागरिकसामु आउन पाएको हुँ। यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँछु।
एक सचेत नागरिकका रूपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्छु।’
प्रकाशित: २४ भाद्र २०८२ १९:४५ मंगलबार





