राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेता सोविता गौतमले पार्टी छाड्ने र जोडिने प्रक्रिया स्वाभाविक भएको भन्दै त्यसलाई धेरै महत्त्व दिन आवश्यक नरहेको बताएकी छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले पार्टी जीवनमा यस्ता कुरा भइराख्ने बताएकी हुन्।
पार्टी छाड्नेहरूलाई पार्टीको लोकप्रियता र उचाइ नमिठो लागेकाले पनि छाडेको हुनसक्ने उनले टिप्पणी गरिन्। ‘छोटो समय भए पनि संसदीय अभ्यासमा, राष्ट्रिय राजनीतिमा जुन हिसाबको हाम्रो प्रस्तुति रह्यो, जुन हिसाबको हाम्रो काम गराई रह्यो। यो सबैले राष्ट्रिय स्वतन्त्र पार्टीको गरिमा, उचाइ प्राप्त भएको हुनाले साथीहरूलाई नमिठो लागेको होला,’ गौतमले भनिन्।
यद्यपि त्यसलाई पार्टी जीवनमा यो नियमित प्रक्रियाका रूपमा लिनुपर्ने बताइन्। ‘अरू पार्टीहरूमा पनि चलिरहन्छ, रास्वपामा पनि यस्तो भयो,’ उनले भनिन्, ‘मलाई लाग्छ हाम्रो पार्टीको जुन विचार र नीति लिएको छ, त्यो विचार र नीतिमा उहाँको विमति भएको कारणले उहाँहरूको मिल्दोजुल्दो विचार भएको ठाउँमा त्यहाँबाट राजनीति सक्रिय जीवन गर्नुपर्छ भनेर जानुभयो होला।’ आफूले यसलाई स्वाभाविक रूपमा लिएको पनि उनले बताइन्।
पार्टीका शुभेच्छुक एवं नेता कार्यकर्तामा कोही जिम्मेवार नेतृत्वमा बसेको व्यक्तिले पार्टी छाड्दा स्वाभाविक रूपमा नमिठो लाग्ने पनि गौतमको भनाई छ। ‘नमिठो लाग्छ। तर पार्टी जीवनमा यस्ता कुरा भइरहन्छन्,’ उनले अगाडि भनिन्।
प्रकाशित: २९ कार्तिक २०८२ १६:१२ शनिबार





