श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले रसुवामा आएको विनाशकारी बाढीपछि सामाजिक सञ्जालको दुरुपयोग भइरहेको भन्दै बताएका छन्।
किरातीले सामाजिक सञ्जालमार्फत बाढीबाट देश नै दुःखी भएको अवस्थामा सामाजिक सञ्जाललाई पीडा प्रदर्शन गर्ने माध्यम नभई सहयोग, सही सूचना र आशा बाँड्ने माध्यम बनाउनुपर्ने बताएका हुन्।
उनले बाढी प्रभावित नागरिकको आत्मसम्मान र संवेदनशीलतालाई ख्याल गर्नसमेत आग्रह गर्दै उनीहरुको उद्धार सँगैराहत कार्यलाई प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय र स्थानीय समुदायसँग हातेमालो गर्नुपर्ने बताएका छन्।
‘विनाशकारी बाढीबाट देश दुखेको छ। यस्तो बेला सामाजिक सञ्जाललाई पीडा प्रदर्शन गर्ने माध्यम होइन, सहयोग, सही सूचना र आशा बाँड्ने माध्यम बनाऔँ,’ किरातीले भनेका छन्।
साथै प्रभावित परिवारको पीडा, चोट, आँसु र संवेदनामाथि थप चोट पुग्ने गरी सामग्री सम्प्रेषण नगर्न उनले आग्रह गरेका छन्।
‘प्रभावित परिवारको पीडा, चोट, आँसु र संवेदनामा नुनचुक छर्कने काम कसैले नगरौँ,’ उनले भनेका छन्।
प्रकाशित: १४ भाद्र २०८३ १८:३१ आइतबार





