चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले कैलालीको धनगढीमा २४ औं सत्याग्रह सुरु गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सास्मित पोखरेलका विगतका भनाइहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
विगतमा डा. केसीको समर्थनमा सडक र सामाजिक सञ्जालमा सक्रिय दुवै नेतृत्व अहिले मुलुकको कार्यकारी भूमिकामा पुगेपछि उनीहरूले केसीका माग कसरी सम्बोधन गर्छन् भन्नेबारे चौतर्फी चासो बढेको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा असोज २०७७ मा डा. केसी १९ औं अनशनमा रहँदा हालका प्रधानमन्त्री बालेन्द्र शाहले केसीको उपचाररत तस्बिर सेयर गर्दै लेखेका थिए, ‘लक्ष्मीप्रसाद देवकोटालाई जस्तै गरेर सक्काउने भए डा. केसीलाई ? आई एम विथ डा. केसी।’
तत्कालीन समयमा डा. केसीको जीवनरक्षा र मागप्रति ऐक्यबद्धता जनाएका शाह अहिले आफैँ मुलुकको प्रधानमन्त्री छन्।

यस्तै, वर्तमान शिक्षामन्त्री सास्मित पोखरेल पनि विगतमा डा. केसीका मागका पक्षमा अग्रपङ्क्तिमा खटिने अभियान्ता थिए।
सन् २०१७ र २०१८ मा डा. केसी अनशन बस्दा पोखरेलले सडकमै उत्रिएर विरोध प्रदर्शन गरेका थिए। सामाजिक सञ्जालमा डा. केसीसँगको तस्बिर सेयर गर्दै उनले लेखेका थिए- ‘माफियाहरू विरुद्धको लडाइँ सहज हुँदैन, म छाती फुलाएर भन्छु डा. केसी जति लड्छन्, जोसँग लड्छन् म जहिले उनको साथमा हुन्छु।’


हाल डा. केसी सुदूरपश्चिमको धनगढीस्थित कृष्ण मन्दिरमा ५ बुँदे मागसहित २४ औँ सत्याग्रहमा छन्। उनले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका गैरकानुनी नियुक्ति खारेजी, छात्रवृत्ति कटौती रोक्न र मर्मअनुसार ऐन कार्यान्वयन गर्न माग गरेका छन्।
विगतमा डा. केसीका मागलाई जायज ठान्दै ‘#IamWithDrKC’ अभियान चलाएका बालेन्द्र शाह प्रधानमन्त्री र सास्मित पोखरेल शिक्षामन्त्री बनेका बेला डा. केसीका माग सम्बोधन हुन्छन् वा पुराना सरकारहरूकै निरन्तरता देखिन्छ भन्ने प्रश्न सामाजिक सञ्जाल प्रयाेगकर्ताले उठाएका छन्।
प्रकाशित: ७ श्रावण २०८३ २०:२७ बिहीबार


-600x400.jpg)


