२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जी युवालाई सिटौलाको सुझाव: तपाईंहरूले केही जित्नु भएको छैन, सिंगो नेपाल हारेको छ

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आन्दोलनमा जेन-जी युवाहरुको जित नभएको बताएका छन् । दशैंको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै नेता सिटौलाले सिंगो नेपालले हारेका समय जेन-जीले पनि केही नपाएको दाबी गरेका हुन् । 

उनले भने, 'भदौं २४ गते सबैतिर भएको लुटपाट, तोडफोड र अगजनीको जति निन्दा र भर्त्सना गरेपनि पुग्दैन । त्यो लुटपाट, आगजनी र तोडफोडमा सहभागी सबैलाई मेरो आग्रह छ, तपाईंहरुको मन अब यस्तो कहिल्यै नबनोस् । यस्तो आतंककारी गतिविधिमा कहिल्यै सरिक नहुनुहोस् अब । तपाईंहरूले केही जित्नु भएको छैन, सिंगो नेपाल हारेको छ ।'  

यो घटनाले आम नेपालीको मनामा भय पसेको बताउँदै राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता सिटौलाले मुलुकलाई नयाँ निकास दिन नयाँ ढंगले अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, 'यो त्रासदिबाट मुक्ति दिन हामीसवै फेरि एकपटक नयाँ ढंगले नयाँ सुरुवात गरौं ताकि हामीबीचमा एकता हुन सकोस् ।'  

नेतृत्व हस्तान्तरणको विषयमा नेपाली कांग्रेसभित्र विवाद सुरु भएको प्रशंगमा उनले यो बेला पार्टीमा परस्पर सहयोगको भावना हुन आवश्यक रहेको बताए । पार्टीमा देखिएको विवाद थप बढाउने भन्दा समाधान गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको उनको भनाइ थियो । 

नेता सिटौलाले राष्ट्र निर्माणका लागि फेरि पनि एकैठाउँमा आउने समय आएको बताउँदै उत्तेजना फैल्याउने काम नगर्न सबैलाई आग्रह गरे । यो दुःखलाई शक्तिमा परिणत गर्न आवश्यक रहेको बताउँदै नेता सिटौलाले आतंकबाट मुक्ति गर्न सबैको साथसहयोग जरुरी रहेको बताए । संकटबाट राष्ट्रलाई बचाउन सबैमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।   

प्रकाशित: ६ आश्विन २०८२ १९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App