३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सिरहा-२: परम्परागत संगठनमाथि ‘बालेन लहर’ हावी

माघ ५ गते अघिसम्म सिरहाको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल प्रायः स्थिर देखिन्थ्यो। संगठित मत आफ्नै नियन्त्रणमा रहेको विश्वासमा परम्परागत दलहरू ढुक्क थिए। उज्यालो अनुहार, बाजागाजा र कार्यकर्ताको भीडसहित माघ ६ गते निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका परम्परागत दलका उम्मेदवारहरूका अनुहार अहिले भने मलिन देखिन थालेका छन्।

गाउँबस्तीमा मत माग्न जाँदा परम्परागत दलका उम्मेदवारहरू केवल मलिन मात्र होइन, अतालिएका जस्ता देखिन्छन्। यसको मुख्य कारण हो, ‘बालेन फ्याक्टर’ ले सिर्जना गरेको लहर। भनिन्छ, कुनै पनि लहर दीर्घकालीन हुँदैन। यो लहर मतदानसम्म कायम रहन्छ कि मत्थर हुन्छ, त्यो भने हेर्न बाँकी छ।’

यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नविनकुमार यादव, जसपा नेपालबाट संजीवकुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन्।

यस निर्वाचन क्षेत्रमा ६२ हजार ६५२ पुरुष र ५३ हजार १०६ महिला गरी कुल १ लाख १५ हजार ७६० मतदाता रहेका छन्। यहाँ १ सय ३६ मतदान केन्द्र छन्।

अब परम्परागत दलहरूको जित–हारको इतिहासतर्फ फर्केर हेरौँ।

२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट नथुनी सिंह दनुवाले ८ हजार १०७ मत ल्याएर विजय हासिल गरेका थिए।

२०५१ सालको आम निर्वाचनमा नेकपा एमालेका नरेन्द्रराज पोखरेल १२ हजार ६५३ मतसहित निर्वाचित भए। सो निर्वाचनमा कांग्रेसकी चित्रलेखा यादवले १० हजार २०७ र नेपाल सद्भावना पार्टीका केदारनाथ यादवले ८ हजार ८५२ मत ल्याएका थिए।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकी चित्रलेखा यादव २१ हजार २९ मत ल्याएर सांसद निर्वाचित भइन्। नेकपा एमालेका हिराबहादुर सुनुवारले १४ हजार ९४, राप्रपा (चन्द) का तारणी प्रसाद यादवले २ हजार ३६१ र राप्रपाका चतुरानन्द ठाकुरले ७ हजार ५१७ मत प्राप्त गरेका थिए।

मधेसको माघे विद्रोहपछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा परम्परागत रूपमा जित्दै आएका कांग्रेस र एमालेलाई पछि पार्दै मधेसी जनअधिकार फोरमबाट राजलाल यादव १६ हजार ६८४ मत ल्याएर निर्वाचित भएका थिए। सो निर्वाचनमा एमालेका रामचन्द्र यादवले ८ हजार ६०१, कांग्रेसकी चित्रलेखा यादवले ७ हजार ६४ र माओवादीका विष्णुदेव यादवले ३ हजार ५५१ मत ल्याएका थिए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामचन्द्र यादव ९ हजार ८१८ मतसहित विजयी भए। कांग्रेसका सूर्यनारायण यादवले ८ हजार १३७, मधेसी जनअधिकार फोरमका राजलाल यादवले ५ हजार ५८१ र माओवादीका जितेन्द्रकुमार यादवले ४ हजार ७४८ मत प्राप्त गरेका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका सुरेशचन्द्र दास २० हजार १४८ मतसहित निर्वाचित भए। संघीय समाजवादी फोरमका शत्रुधन सिंह कोइरीले १७ हजार २६० र कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९७ मत ल्याएका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भए। कांग्रेसकी चित्रलेखा यादवले २३ हजार २८, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२ र हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिह्न लिएर लडेका शिवशंकर यादवले ७९९ मत प्राप्त गरेका थिए।

गत निर्वाचनमा ७९९ मत मात्र ल्याएका शिवशंकर यादव (शिव) यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि परम्परागत दल र उनीहरूका गढ हल्लिन थालेका छन्। यसको प्रमुख कारण हो, ‘बालेन फ्याक्टर’। बालेनको लहरबाट सिर्जित माहोलको लाभ शिवले उठाइरहेका छन्।

यसपटक शिव दुई प्रमुख मुद्दा लिएर परम्परागत मतको ‘गढ’ भत्काउने प्रयासमा छन्। पहिलो, ‘मधेसीया बेटा के प्रधानमन्त्री देखके है त भोट दु’ र दोस्रो, परिवर्तन चाहिन्छ भने भोट दिनुपर्ने। पटक–पटक भरोसा गुमेर आजित बनेका मतदातामाझ उनका यी एजेन्डा अहिलेसम्म ‘हिट’ र सटिक देखिएका छन्।

अब स्थानीय तह निर्वाचनको नतिजातर्फ फर्कौँ ।

यस निर्वाचन क्षेत्रमा नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिकाका वडा नम्बर ४ र ५, धनगढीमाई नगरपालिकाका वडा नम्बर ३ देखि १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको वडा नम्बर १ र गोलबजार नगरपालिकाको वडा नम्बर १३ पर्दछन्।

नवराजपुर गाउँपालिकामा जसपा नेपालका शिवउद्गार यादव ४ हजार ५५४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसका विश्वमोहन यादवले २ हजार ५२५, एमालेका खुशीलाल मण्डलले १ हजार ७५३ र जनमत पार्टीका जिवछकुमार यादवले १६४ मत ल्याएका थिए।

बरियारपट्टी गाउँपालिकामा जसपाका सन्तोषकुमार यादव ३ हजार ८४४ मतसहित अध्यक्ष निर्वाचित भए। कांग्रेसका उपेन्द्र यादवले ३ हजार ५३४, माओवादीका अजयकुमार यादवले २ हजार ४७३ र जनमत पार्टीका दिनेशप्रसाद यादवले ५०५ मत प्राप्त गरेका थिए।

सुखिपुर नगरपालिकामा एमालेका रामऔतार यादव ४ हजार ४३४ मत ल्याएर मेयर निर्वाचित भए। जसपा नेपालका जिवछ यादवले ३ हजार ११२, एकीकृत समाजवादीका हरिवंश महतोले २ हजार ५९७, कांग्रेसका विजयकुमार यादवले २ हजार ५६६ र जनमत पार्टीका सन्तोषकुमार यादवले १ हजार ५४७ मत ल्याएका थिए।

अर्नामा गाउँपालिकामा वडा नम्बर ४ मा जसपा नेपाल र वडा नम्बर ५ मा एमालेका अध्यक्ष निर्वाचित भएका थिए।

धनगढीमाई नगरपालिकामा वडा नम्बर ३ मा माओवादी, ४ र ५ मा कांग्रेस, ६ मा एकीकृत समाजवादी, ७ मा जसपा नेपाल, ८ मा जनमत, ९ मा माओवादी, १० मा कांग्रेस, ११ र १२ मा एमाले, १३ मा माओवादी र १४ मा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन्। गोलबजार नगरपालिकाको वडा नम्बर १३ मा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका हुन्।

मधेस केन्द्रित दल, कांग्रेस, माओवादी र एमालेले पालैपालो जित्दै आएको यस क्षेत्रमा यसपटक मतदाताको मन बदलिएसँगै नतिजा पनि बदलिने हो कि भन्ने त्रास परम्परागत दलका उम्मेदवारहरूमा देखिन्छ। उता, बालेनको लहरले शिवलाई थप हौस्याइरहेको छ।

बरियारपट्टी गाउँपालिकाको चिया चौतारामा भेटिएका नथुनी यादवका अनुसार यसपटकको चुनावमा उथलपुथल निश्चित देखिन्छ। उनी भन्छन्, ‘यसपटक दलगत संगठित मतभन्दा मतदातामा पलाएको परिवर्तनको मनोविज्ञान बलियो हुँदैछ। दलका नेताले भनेको भन्दा पनि मतदाताको दिमागमा बनेको छापले मत पाउने देखिन्छ।’

उनले धेरै खुल्न नचाहेपनि यहाँको हालसम्मको जमिनी यथार्थ भने यसैलाई संकेत गर्ने बताउँछन्।

प्रकाशित: ११ माघ २०८२ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App