सिमरामा कर्फ्यू लगाउने अवस्थामा पुगेको तनावको कारक एमाले भएको जेन-जी मधेस प्रदेश संयोजक शिव यादवको दाबी छ । जेनजी बारा समितिले नेकपा एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध नगरेको समेत उनले बताए ।
उनकाअनुसार सिमरा चोकमा आज ( बुधबार) जेनजीको कार्यक्रम थियो । यो कार्यक्रममा एमालेका कार्यकर्ता परिचालित गरेर जेनजी बारा संयोजक सम्राट उपाध्यायलगायतका जेनजी साथीलाई कुटपिट गरेको उनले बताए ।
एमालेको कार्यक्रम परवानीपुरमा थियो । तर, एमालेका कार्यकर्ता सिमरामा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्व्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको उनले बताए । ‘यो तथ्य हो र स्पष्ट छ,’ उनले भने, ‘गलत सूचना प्रवाह भैरहेको छ । यो सूचनाले आन्दोलनलाई बदनाम गर्न खोजिएको छ, यसो नहोस् ।’
यो घटना घटाउने कार्यमा संलग्न एमालेका कार्यकर्तालाई तत्काल पक्राउ गरी कानुनी कारबाही हुनुपर्ने उनको माग छ । ‘आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेस निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु’, आक्रोश पोख्दै उनले भने ।
'मधेसमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेसको शान्ति सुरक्षामै खलल पुर्याएको छ,’ उनले भने ।
यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रसँग आफ्नो जोडदार माग रहेको उनले बताए ।
प्रकाशित: ३ मंसिर २०८२ १६:४४ बुधबार





