नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा यतिबेला सम्पूर्ण एकताको खाँचो रहेको औँल्याएका छन्। बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
‘राष्ट्रको चेतना, ज्ञान र विवेक गुमाएर सामुहिक मूर्खतातर्फ कांग्रेसले आफुलाई अगाडि बढाउन सम्भव नै छैन,’ नेता कोइरालाले भने, ‘तसर्थ, पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ। एकतामा नै बल छ भन्ने मुलमन्त्र बिपी कोइरालालगायत संस्थापक र अग्रजहरुले हामीलाई प्रदान गर्नुभएको शिक्षा हो।’
मुख्य कुरा पार्टीप्रतिको अपनत्वलाई गहिरो गरी कार्यकर्तामा अनुभूति गराउन सके कांग्रेसलाई निर्वाचन लड्न र सरकार बनाउन कसैको सहारा नचाहिने पनि कोइरालाले बताए। ‘प्रश्न उठ्छ के पार्टीको निर्णय प्रणालीमा बस्ने ‘हामी’ आम साथीहरुको भावनालाई बोकेर निर्णय गर्न तयार छौं? के नागरिकको भावनालाई बोकेर ‘हामी’ सरकार सञ्चालन गर्न तयार छौं?,’ शेखरले प्रश्न गरे।
१५औँ महाधिवेशन वाद–विवाद, छलफल र वहस यिनै र यस्तै विषयमा केन्द्रित हुनुपर्ने पनि उनले बताए। उनले अगाडि भने, ‘नेपाली कांग्रेस एउटा शब्द होइन । यो नेपाली समाजको सभ्यता हो। नेपालको इतिहास हो। लोकतन्त्रको पर्यायवाची हो र नेपालका सबैै जात–जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन हो। अर्थात कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो।’
केन्द्रीय समिति बैठकमा शेखरले ७ बुँदामा आफ्नो धारणा राखेका थिए।
यस्तो छ, शेखरले केन्द्रीय समिति बैठकमा राखेको पूरा धारणा
आदरणीय कार्यवाहक सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू ।
सर्बप्रथम म जेनजी आन्दोलनको क्रममा मारिएका ती अबोध युवाप्रति र त्यसक्रममा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु जो कर्तव्य पालनाको सन्दर्भमा आफ्नो जीवन गुमाएका छन, तिनीहरु सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
अझै पनि अस्पतालमा उपचार गराई रहनुभएका जेनजी पुस्ता र अन्य घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै राज्यद्धारा तिनलाई पुर्याउनु पर्ने यथोचित सुविधा र मानवीय संवेदनामा ध्यान पुगोस भनी ध्यानाकर्षण गर्दछु ।
साथै, भाद्र २३ गते राज्यबाट अत्याधिक बल प्रयोग गर्नुको कारण देशले गुमाएका होनहार युवाहरुप्रति न्याय दिन र दोषिमाथि कडा कारबाहीको माग गर्दछु ।
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाज्यूद्धारा प्रस्तुत सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी मन्तव्यको लागी म हार्दिक आभार प्रकट गर्दछु ।
कार्यवाहक सभापतिज्यू,
देशको यस विषम र अन्यौल ग्रस्त परिस्थितिमा हामीले लिनु पर्ने निर्णयहरुका वारेमा आफ्ना केही कुराहरु संक्षिप्तमा राख्न चाहन्छु।
१. विश्व परिवेशका सम्बन्धमाः
आजभन्दा झण्डै पाँच दशक अगाडि दक्षिण एशियामा घटिरहेको असामान्य राजनीतिक हलचलहरुवाट नेपाल जस्ता साना राष्ट्रहरुको अस्तित्व नै खतरामा पर्ने ठानी आठवर्षको प्रवास जीवन त्यागेर विपी कोइराला र गणेशमान सिंह नेपाल फर्कनु भएको थियो।
देशको अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षार्थ आफ्नो जीवन खतरामा पारी स्वदेश फर्कनु भएको त्यो ऐतिहासिक क्षण आज यसकारण पनि स्मरणीय छ की अहिले फेरि एकपटक दक्षिण एशियाका मुलुकहरुमा ठूला राजनीतिक उथलपुथल र निर्वाचित सरकार अपदस्थ हुनेक्रम शुरु भएको छ । दक्षिण एशियामा मात्र होइन विगत केही वर्ष देखि सम्पुर्ण विश्व राजनीतिमा यस किसिमका नयाँ–नयाँ प्रयोग र अप्रत्याशित घटनाहरु घटिरहेका छन ।
२.संविधान बारेः
हाम्रो देशमा एउटै पुस्ताले चारवटा राजनीतिक आन्दोलन देख्यो। हामी अगाडिका पुस्ताले राजनीतिक आन्दोलनको नाममा अनेकन् हण्डर, यातना, बलिदान, प्रवास र संघर्षहरु देखे र झेले। संविधानका अनेकन् प्रयोगहरु पनि भए र भइरहेका पनी छन। यसैक्रममा संविधानसभावाट आम नेपाली जनताको भावना अनुरुप निर्माण भएको वर्तमान संविधान फेरि एकपटक जनताको कठघरामा पुगेको छ।
सात दशकको प्रयत्न पछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ। यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ। मलाई लाग्छ सम्पुर्ण नेपाललाई एउटै अभियानमा भविष्यन्मुखी दिशातर्फ लैजाने बाटो भनेको “घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण” नै हो।
निर्वाचनको विकल्प सोच्दा आउने परिणामले हामीलाई युवा पुस्ताबाट मात्र होइन देशको राजनीतिबाट पनि असान्दर्भिक बनाउनसक्छ।
३. आगामी निर्वाचनका बारेः
नेपाली कांग्रेस मात्र होइन अन्य राजनीतिक दल, सबै पुस्ता, सञ्चार क्षेत्र, सहयोगी देश तथा विकास साझेदार निकायहरू लगायत जेनजी पुस्ता सबैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएका छन्। यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन।
कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनताबिच पुनस्र्थापित गर्नुपर्दछ। तर आम निर्वाचनको वातावरण बनाउन सरकारले निम्न कुराहरू पूरा गर्नुपर्छ।
क. स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्छ र त्यसक्रममा जेलवाट भागेका अपराधीहरूलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु हुँदैन।
ख. त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो। यसतर्फ वर्तमान सरकारको सकृयतामा केही कमी देखिएको छ।
ग. भाद्र २४ गते जेनजी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता कुरालाई कुनै पनि सभ्य समाजले स्वीकार्न सक्दैन। व्यक्तिको घर र सम्पति, राष्ट्रिय सम्पदा, उद्यमी व्यवसायीको घर, व्यापारिक केन्द्र, सरकारी भवनहरुमा भएको आगजनी, लुटपाट र राष्ट्र निर्माणमा योगदान दिने नेताहरुका घरहरुमा भएको आगजनी र बिध्वंशले हाम्रो समाजमा ठुलो घाउ छोडेको छ । यो अपुरणीय क्षति हो । त्यस्ता असामाजिक र अपराधी काम गर्ने तत्वको पहिचान गरी तिनलाई प्रचलित कानुन बमोजिम दण्ड नदिएर उन्मूक्ति दिने कार्य कदापी स्वीकार्य हुँदैन, सरकारले यसलाई हेक्का राखो्स।
४.कांग्रेसले नेतृत्व लिनुपर्ने बारेः
हाम्रो देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि नउठाइ हामी अब अगाडि बढ्नसक्ने अवस्था देखिएन। यसमा कांग्रेसले अगुवाइ गर्न सक्नुपर्छ। यस सम्वन्धमा सरकार र सरकार सञ्चालनमा जाने दलका पात्रहरूबारे लामो समय देखि नागरिकस्तरवाट प्रश्नहरू उठेका थिए।
लोकतान्त्रिक सार्वभौम सिद्धान्त र मूल्यपद्धतिलाई जित र हार मात्र होइन प्रतिष्ठाको विषय बनाएर हिँड्यौँ र हामीले नागरिकको आवाजलाई सुनेनौं, परिणामस्वरुप आज यो अवस्थामा आइपुगेका छौं।
५.नियमित अधिवेशनबारेः
आज कुरा उठेको छ कांग्रेस पार्टी अब कसरी अगाडि बढ्छ भनेर । कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देश भित्र र बाहिरका हाम्रा शुभचिन्तकहरु मात्र छैनन, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरुले पनि हाम्रा भावी कदमवारे आँखा लगाएर हेरिरहेका छन्। अन्य राजनीतिक दलहरु मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरु माझ भन्न चाहन्छु ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी’ बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ। महामन्त्री ज्यूले आगामी मंसिरमै महाधिवेशन गर्नेगरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।
‘विशेष महाधिवेशनको’ सन्दर्भमा उठेका र कांगे्रसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै उर्जा भर्न होे भनी म बुझ्छु। यी सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु।
यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन। सहि अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, उर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ। हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ। महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने ‘राष्ट्रिय निर्वाचन’लाई आम जनताबीच कांग्रेसलाई फेरी एकपटक जागृत गराउनेछ।
हेक्का राख्नुपर्ने कुरा के छ भने हाम्रा अगाडि उभिएका चुनौतिका अनुहारहरू परिवर्तन भएका छन्, यो सामाजिक गतिको स्वभाविक प्रकृया हो। समय सापेक्ष हामी पनि परिवर्तन हुनुपर्छ। त्यो हाम्रो चरित्र र आचरणमा देखिनुपर्छ। अन्यथा हाम्रो नीति र नियम माथि नियतमा रहेको हाम्रो खोटले हामीलाई हराइरहने छ।
६.कांग्रेस भित्रको एकताबारेः
निःसन्देह यतिबेला कांगे्रस भित्र एकताको खाँचो छ। यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ। निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा ‘विन–विन’को भावना विकास गर्नसके सम्भव हुन्छ। यसबारे पार्टी भित्र व्यापक बहस, छलफल र विश्लेषण जरुरी छ।
आपसी अविश्वास र सन्देहले राजनीतिक विवेक मात्र होइन सामाजिक विवेक पनि समाप्त हुन्छ। यो संस्कृतिको अन्त नै ‘राष्ट्रको दिशा र कांग्रेसको भविष्य’ हो। एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता हो।
७.अनुशासन समितिबाट कारबाहीको सिफारिस सम्बन्धमाः
२०७९ सालमा नेपाली कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनैतिक परिस्थितिमा उक्त कारबाही फिर्ता गर्न माग गर्दछु। सबै नेता कार्यकर्ता साथीहरू एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकोले हाललाई सबै कारबाही फिर्ता गरी एकताका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिने र बिभिन्न समयमा कारणबस कांग्रेसको मुलप्रवाहवाट वाहिरिएका सबैै साथीहरुलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मुलधारमा आउने आहन होस भनी म यहाँ प्रस्ताव राख्छु ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुनसक्छ भन्ने हाम्रो पार्टीको मूलभूत सिद्धान्त मात्र होइन, यो हाम्रो जीवन पद्धति पनि हो। आम नेपालीहरुले अपनाएको संस्कृति पनि त्यही हो।
अन्त्यमा,
राष्ट्रको चेतना, ज्ञान र विवेक गुमाएर सामुहिक मूर्खतातर्फ कांग्रेसले आफुलाई अगाडि बढाउन सम्भव नै छैन। तसर्थ, पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ। एकतामा नै बल छ भन्ने मुलमन्त्र बिपी कोइरालालगायत संस्थापक र अग्रजहरुले हामीलाई प्रदान गर्नुभएको शिक्षा हो।
मुख्य कुरो पार्टीप्रतिको अपनत्वलाई गहिरो गरी कार्यकर्तामा अनुभूति गराउन सके हामीलाई निर्वाचन लड्न र सरकार बनाउन कसैको सहारा चाहिँदैन। प्रश्न उठ्छ के पार्टीको निर्णय प्रणालीमा बस्ने ‘हामी’ आम साथीहरुको भावनालाई बोकेर निर्णय गर्न तयार छौं? के नागरिकको भावनालाई बोकेर ‘हामी’ सरकार सञ्चालन गर्न तयार छौं?
१५औँ महाधिवेशन वाद–विवाद, छलफल र वहस यिनै र यस्तै विषयमा केन्द्रित हुनुपर्छ।
नेपाली कांग्रेस एउटा शब्द होइन । यो नेपाली समाजको सभ्यता हो। नेपालको इतिहास हो। लोकतन्त्रको पर्यायवाची हो र नेपालका सबैै जात–जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन हो। अर्थात कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो। जय नेपाल
प्रकाशित: ३० आश्विन २०८२ १६:५४ बिहीबार





