नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू विशेष महाधिवेशनमा नगएकाले पार्टी फुटबाट जोगिएको दाबी गरेका छन्। बिहीबार मोरङ–६मा चुनावी प्रचारका क्रममा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले आफू पार्टीको एकता जोगाउन नै मध्यमार्गी धारमा बसेको बताएका हुन्।
‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो,’ कोइरालाले भने, ‘पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएको हो।’
विशेष महाधिवेशन एक प्रक्रिया मात्रै भएकाले त्यसबारे धेरै कुरा नगर्न पनि कोइरालाले कार्यकर्तासँग आग्रह गरे। उनले भने, ‘विशेष महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ।’
अहिलेको अवस्थामा मुलुकका जटिलताको निकास चुनावबाटै सम्भव भएकाले चुनावमा भाग लिएर कांग्रेस जिताउने अभियानमा लाग्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरे।
प्रकाशित: ८ माघ २०८२ १६:२४ बिहीबार





