नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाबिच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ।
दुई नेताबिच बुधबार पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने विषयमा छलफल भएको हो। भदौ २३ र २४ गतेपछि बदलिएको अवस्थाका विषयमा निर्णय गर्न पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन नेता कोइरालाले माग गर्दै आएका छन्।
सोही बैठकबाट विशेष महाधिवेशन वा छोटो प्रक्रियाबाट नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा कोइराला छन्। नयाँ नेतृत्वसहित फागुन २१ को निर्वाचनमा जानुपर्ने पक्षमा रहेका कोइराला र विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्री थापाबिच छलफल भएको हो।
दुई नेताबिच लामो छलफल भएको जनाउँदै निकट स्रोतले निर्वाचन अघि पार्टीको विशेष महाधिवेशनबाट नेतृत्व परिर्वतन गर्ने विषयमा छलफल केन्द्रीत भएको जनाएको छ।
नियमित महाधिवेशन अब भ्याउने सम्भावना नरहेको जनाउँदै निकट स्रोतले भन्यो, ‘उहाँहरू बिच विशेष महाधिवेशन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ।’
प्रकाशित: ८ आश्विन २०८२ १९:१९ बुधबार





