१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

तीजलाई भड्किलो नभई क्षमता विकासको पर्व बनाऔं: उपसभामुख न्यौपाने

कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले हरितालिका तीजलाई भड्किलो र खर्चिलो बनाउनुभन्दा महिलाहरूको क्षमता प्रदर्शन र विकासको अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिएकी छन्।

जुम्लाको चन्दननाथ नगरपालिका-१ द्वारा आयोजित तीज विशेष देउडा प्रतियोगितालाई सम्बोधन गर्दै उनले पर्वको मौलिकता जोगाउनुपर्ने बताइन्।

दर खाने नाममा महिना दिनअघिदेखि होटलहरूमा महंगा गरगहना र कपडा लगाएर गरिने प्रदर्शनले तीजको मर्ममाथि प्रहार गरेको उनको भनाइ थियो।

‘यसले गरिब र धनीबीच वर्ग छुट्ट्याएको देखिन्छ, यो राम्रो होइन,’ उपसभामुख न्यौपानेले भनिन्, ‘ठूला-ठूला होटलमा स्पिकर बजाएर नाच्ने चलनले तीजको मौलिक महत्व नै हराउँदै जाने चिन्ता बढेको छ।’

उनले तीजका गीतहरू महिलाले वर्षभरि भोगेका दुःख, पीडा र वेदना पोख्ने माध्यम भएको स्मरण गर्दै आजभोलिका गीतले मौलिकता गुमाउँदै गएकोमा चिन्ता व्यक्त गरिन्।

उपसभामुख न्यौपानेले स्थानीय सरकारहरूले तीजलाई महिलाको प्रतिभा पहिचान र क्षमता विकाससँग जोड्ने कार्यक्रमहरूमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन्।

चन्दननाथ नगरपालिका-१ ले दानसाँघु त्रिवेणीमा आयोजना गरेको उक्त प्रतियोगितामा चर्चित देउडा गायक विपना सिंह र स्थानीय गायक धिरज जैसीबीच देउडा चलेको थियो।

वडाध्यक्ष तथा प्रतियोगिता समितिका अध्यक्ष तिलकप्रसाद न्यौपानेले खस सभ्यताको जगेर्ना गर्न र तीजलाई प्रतिभा पहिचानको माध्यम बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा उपसभामुख न्यौपानेले दानसाँघु क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न आफूले प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

प्रकाशित: १० भाद्र २०८२ २१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App