नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीले बिपी कोइरालाको बाटोलाई छाडेको गुनासो गरेका छन्। बिपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा मंगलबार बिहान सुन्दरी जल पुगेका शशांकले भने, ‘बिपीकै पदचापमा कसरी हिँड्ने भन्ने चिन्ता छ।’
बिपी कोइरालाले मुलुकको अफ्ठेरो अवस्थामा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढेको पनि शशांकले बताए। अहिले पार्टीमा एकता र मेलमिलापको अभाव रहेको बताउँदै उनले भने, ‘उहाँमा सबैलाई समेट्न सक्ने क्षमता थियो।’
बिपीले छोटो समयमा मुलुकको आर्थिक विकास र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले भने, ‘पूर्व पश्चिम राजमार्ग उहाँकै परिकल्पना थियो, राजा महेन्द्रले निर्माण गरे पनि।’
आठ वर्षसम्म बिपी कोइराला सुन्दरी जल जेलमा बस्दाको पारिवारिक कठिनाइ र त्यसपछिका समस्याको स्मरण गर्दै शशांकले अहिले पनि आँखाबाट आँसु आउने बताए। तर, त्यस्तो कठिन अवस्थालाई आमा सुशीलाले सम्हालेको र बिपी कोइरालाका साथीहरू तथा शुभेच्छुकहरूको सहयोग पाएको स्मरण गरे।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र जननिर्वाचित सरकार अपदस्थ गरेपछि बिपी कोइरालासहितका नेतालाई सोही स्थानमा कारावासमा राखेका थिए। उनको २०३९ साउन ६ गते क्यान्सरबाट निधन भएको थियो।
प्रकाशित: ६ श्रावण २०८२ १०:४१ मंगलबार





