२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पुरानै मत जोगाउन नसकेका शंकर

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ९३ को झिनो मतान्तरको हारलाई जितमा परिणत गर्न चाहेका थिए यसपाला एमाले महासचिव शंकर पोख्रेलले। कांग्रेस र माओवादीको त्यो बेलाको गठबन्धनले प्राप्त गरेको विजयी मत भन्दा १ सय ९३ मतले मात्रै पछि परेका शंकरले यसपटकको भिडन्तलाई सहज आँकलन गरिरहेका थिए। अहिले गठबन्धनविहिन प्रतिस्पर्धाका कारण स्वाभाविकै रूपमा नतिजा आफ्नो पक्षमा पर्नेमा विश्वस्त देखिएका शंकरका लागि यस पटकको नतिजा झनै अस्वाभाविक बनिदियो।  

यहाँ सम्मकि शंकरले गत निर्वाचनमा प्राप्त गरेको मतलाई जोगाउन समेत सकेनन्। अघिल्लो निर्वाचनमा २६ हजार ८ सय ८० मतका साथ कांग्रेस माओवादीको गठबन्धनबाट रेखा शर्माले जित हात पार्दा एकल भिडन्तमा जुधेका शंकरले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए। गत निर्वाचनमा प्राप्त मतलाई यसपटक सुरक्षित राखेर थप मतदाताको मन जित्ने दाउमा रहेका उनी गत निर्वाचन भन्दा पनि लज्जाजनक मतको भागीदार बन्न पुगे। उनले यो निर्वाचनमा अघिल्लो निर्वाचन भन्दा ११ हजार भन्दा कम १५ हजार २ सय ८७ मत मात्रै प्राप्त गरे। बरु गत निर्वाचनमा उनी भन्दा तल्लो स्थानमा रहेको रास्वपाले उनलाई अहिले उछिन्यो र जित हात पार्यो। रास्वपाका विपिन कुमार आचार्य ४३ हजार ५ सय ५७ मतका साथ विजयी बने।  

संसदीय राजनीतिको सुखद बिदाइको खोजीमा थिए शंकर। उनले मतदातासंगको भेटका क्रममा पनि आफ्नो अन्तिम मौकालाई अवसरका रुपमा लिन भन्दै मत माग्ने गरेका थिए। त्यसोत, शंकरलाई नेपाली कांग्रेस, नेकपा सहितको मत समेत प्राप्त हुने बिश्वास थियो। गत निर्वाचनमा आफू जस्तो हेभिवेट नेतालाई नजिताएर ठूलो मतदाताको तप्का पछुताएको र त्यो मत यो निर्वाचनमा आफूलाई प्राप्त हुने बिश्वासमा थिए। तर उनको उत्तरार्द्धको राजनीति झन सुखद बन्न सकेन। ‘मलाई गत निर्वाचनमा निर्वाचित नगराएर मतदाताहरूको ठूलो तप्का अहिले पछुताएको अवस्था छ, म प्रतिको यो सम्मानले मलाई यसपटक अवश्य जिताउने छ,’ निर्वाचन अघि नागरिकसंग गरिएको कुराकानीमा शंकरले आफ्नो जितको आधार बारे भनेका थिए ‘त्यस अलावा विकासका सवालमा भएको मेरो योगदानको कदर मतदाताबाट अवश्य हुने छ।’ आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई देखेका थिए उनले। रास्वपाका पक्षमा देखिएको माहोललाई कमजोर आँकलन गरेका शंकरले भनेका थिए ‘अहिले देखिएको भीड हावा चलेको जस्तै हो,यो मतमा रुपान्तरण कुनै पनि हालतमा हुँदैन।’

रास्वपालाई प्रतिस्पर्धीका रुपमा नसोचेका पोख्रेलका लागि रास्वपा नै बाधक बनिदियो। शंकरको नजरमा कमजोर प्रतिस्पर्धी आँकलन गरिएको उहि रास्वपाले ठूलो मतान्तरले विजय हात पार्यो। रास्वपाका विपिन कुमार आचार्यले  ४३ हजार ५ सय ५९ मत प्राप्त गर्दै निर्वाचित बने। लगातार दोस्रो हारसंगै दाङमा शंकर—राजनीतिको बिराम लाग्ने बिश्लेषण गरिएको छ। २०५१ देखि संसदीय प्रतिस्पर्धामा भिड्न सुरु गरेका शंकरका लागि यो प्रतिस्पर्धानै अब अन्तिम प्रतिस्पर्धाका रुपमा जिल्लाबासीहरूले लिएका छन्। लगातार दोस्रो हारले शंकर आफैँलाई गलाएको छ नै, त्यसमाथि नयाँ पुस्ताको खोजी भइरहेको अहिलेको अवस्थामा पुराना नेता शंकरका लागि आगामी प्रतिस्पर्धापनि अनुकूल हुने सम्भावना कम देखिएको छ। फलतः शंकरको यो नै अन्तिम संसदीय प्रतिस्पर्धाका रुपमा जिल्लाबासीहरूले बुझेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App