१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

नयाँ नेपाल सुहाउँदो कांग्रेस बनाउने एजेन्डासहित महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी

फाइल तस्बिर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता शंकर तिवारीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आइतबार बिहान तिवारीले कांग्रेसलाई विचारका आधारमा अघि बढाउन र रुपान्तरणको प्रक्रियालाई थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताएका हुन्। उनले भने, ‘कांग्रेस भनेको विचार हो। विचारको रक्षाका लागि मेरो उम्मेदवारी हो।’

उनले विशेष महाधिवेशनपछि पनि कांग्रेस अलमलिएको भन्दै अब पार्टीले स्पष्ट वैचारिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए। नयाँ पुस्तालाई पार्टीको नेतृत्वमा ल्याएर मात्र नपुग्ने भन्दै उनीहरुलाई वैचारिक आधार र जिम्मेवारी दिनुपर्नेमा जोड दिए।

तिवारीले आफ्नो पुस्ता २०५८ देखि २०६२ सालको आन्दोलनका क्रममा कांग्रेसमा जोडिएको बताए। गणतन्त्रमा गएको कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न आफूले भूमिका खेल्न चाहेको उनले बताए।

उनले सभापति गगन थापालाई साथ दिनुका साथै आवश्यक खबरदारी गर्न पनि आफू उम्मेदवार बनेको बताए। ‘गगन थापाको हात बलियो बनाउन, उहाँको चिन्तनलाई प्रगतिशील बनाइराख्न र नयाँ नेपाल सुहाउँदो कांग्रेस बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने।

तिवारीले कांग्रेसमा पदाधिकारीको संख्या थपेर मात्रै पार्टी बलियो नहुने बताए। बहुपदीय अवधारणाको समीक्षा गर्नुपर्ने भन्दै उनले पार्टीको मूल समस्या वैचारिक स्पष्टता र नेतृत्व व्यवस्थापनमा रहेको बताए।

उनले कांग्रेसले आजको बदलिँदो समाज, अर्थतन्त्र, प्रविधि र विश्व परिस्थितिअनुसार लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या गर्नुपर्ने बताए। कांग्रेसले इतिहासमा जस्तै अब पनि देशलाई नेतृत्व दिन सक्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १८ आश्विन २०८३ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App