राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफ्नो पार्टीले नैतिकताको राजनीति गर्ने उद्घोष गरेका छन्।
शनिबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ भन्ने संकल्पका साथ जनतामाझ जाने बताएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएको संकल्पपत्रमा राप्रपाले भ्रष्टाचारलाई राष्ट्रघाती अपराधको रूपमा व्याख्या गर्दै यसको जरो काट्न संरचनात्मक परिवर्तनको खाका अघि सारेको छ।
घोषणापत्र सार्वजनिक गर्ने क्रममा अध्यक्ष लिङ्देनले राप्रपाका कुनै पनि निर्वाचित प्रतिनिधि र पदाधिकारी भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता जनाए।
‘हामी पद र प्रतिष्ठाका लागि आफ्नो इमान र मुलुकको भविष्य बेच्दैनौँ,’ उनले भने, ‘राजनीतिक रूपमा समाप्त हुन तयार छौं, तर भ्रष्टाचार गरेर जनतालाई धोका दिने छैनौँ।’
राप्रपाले २०४६ सालपछि लाभको पदमा बसेका सबै उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारेको छ। यसका लागि एक शक्तिशाली उच्चस्तरीय नागरिक आयोग गठन गरिने र अवैध देखिएका सबै सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिने घोषणापत्रमा उल्लेख छ।
त्यस्तै, विकास निर्माणका काममा हुने ढिलासुस्ती र नीतिगत भ्रष्टाचार रोक्न स्वार्थको द्वन्द्व सम्बन्धी कानुन निर्माण गर्ने र भ्रष्टाचारको सूचना दिने व्यक्तिलाई राज्यले नै संरक्षण गर्ने सूचक संरक्षण ऐन ल्याउने प्रतिबद्धता राप्रपाको छ।
अध्यक्ष लिङ्देनले अदालतमा हुने राजनीतिक भागबण्डा र सेटिङ अन्त्यका लागि न्यायपालिकाको पुनर्संरचना र पुनर्नियुक्ति अनिवार्य रहेको जिकिर गरे। उनले कर्मचारीतन्त्र र सुरक्षा निकायलाई पनि राजनीतिक हस्तक्षेपमुक्त बनाएर व्यावसायिक बनाउने आफ्नो योजना सुनाए।
‘सबैको मित्रता स्वीकार्य, हस्तक्षेप अस्वीकार्य’ भन्ने परराष्ट्र नीतिमार्फत राष्ट्रियतालाई बलियो बनाउने राप्रपाको दाबी छ।
प्रकाशित: २ फाल्गुन २०८२ १७:४८ शनिबार





