ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा स्थापना हुने इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारीको दरबन्दी कायम भएको छ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठद्वारा दरबन्दी कायम प्रमाणित भएको कागजातसहितको पत्र पालिकामा प्राप्त भएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले जानकारी दिए। उनले सामाजिक सञ्जालमा लेख्दै २०८२ भित्रै इलाका प्रशासन कार्यालयको सेवा प्रवाह सुरु हुने बताएका छन्।
इलाका प्रशासन कार्यालयमा अब नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) तहका १ जना, सोही सेवा र सोही समूहका राजपत्र अनंकित प्रथम श्रेणीका (नायव सुब्बा) २ जना, नेपाल विविध सेवाका राजपत्र अनंकित प्रथम श्रेणीका (नायव सुब्बा) कम्प्युटर अपरेटर १ जना र नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह कार्यालय सहयोगी २ जना खटिने छन्।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि उक्त कार्यालयबाटै नागरिकता प्रदान सहितका सेवा सुरु हुनेछन्। सिरिजङ्गा, सिदिङ्वा र पाथीभरा याङवरक गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी तेल्लोक इलाका प्रशासन कार्यालयमार्फत सेवा प्रवाह गर्ने योजना बनाइएको छ। तर, यसका लागि सम्वन्धित वडा कार्यालय हुँदै कार्यपालिकाले तेल्लोक इलाका प्रशासन कार्यालयमार्फत सेवा लिन इच्छुक रहेको निर्णय जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसम्म पठाउनुपर्ने हुन्छ।
प्रकाशित: २ फाल्गुन २०८२ १७:०५ शनिबार





