कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार अब उपचार योजनाको समन्वय दुबै अस्पतालका चिकित्सकले मिलेर गर्ने, एक अस्पतालमा नभएको सेवा अर्को अस्पतालले उपलब्ध गराउने, चिकित्सक सेवा आदानप्रदान, तालिम दिने लगायतका कामहरु हुने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए।
यो सम्झौताले सरकारी अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सेवा आदानप्रदान गर्न सहजीकरण हुने विश्वास लिएको उनले बताए।
विशेषगरी कान्ति अस्पतालमा नभएका सेवाहरू लिन सहज हुने र निकट भविष्यमा पेट स्क्यान, बोन म्यारो ट्रान्सप्लान्ट लगायतका सुविधा पनि उपलब्ध गराइने उनको भनाइ छ।
भक्तपुर क्यान्सर अस्पतालले १४ बर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार सेवा निशुल्क प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य बिमा कार्यक्रम मार्फत पनि सेवा लिन सकिने अस्पतालले जनाएको छ।
प्रकाशित: २ चैत्र २०८२ १४:२८ सोमबार





